
अमेरिकाको मेरिल्यान्ड स्टेटमा बस्ने बुटवलका किरण ढकाल घरभित्रै बसेको १७ दिन भइसक्यो ।
अमेरिकामा रहेको सामाजिक संस्था बीएएनएका महासचिव समेत रहेका ढकालको परिवार घरबाहिर निस्केको छैन ।
उनी भन्छन्, ‘यहाँको सरकारले कोरोनाको जाँच गर्दा ‘पोजेटिभ’ देखिए घरमै सेल्फ क्वारेन्टाइनमा बस्न भनेको छ । श्वास फेर्न गाह्रो भए मात्र अस्पतालको सम्पर्कमा आउन भन्छ ।’
उनीजस्तै मेरिल्याण्ड राज्यमा रहेको करीब २० हजार नेपालीमध्ये अधिकांश घरभित्रै बसेका छन् । ‘अवस्था जटिल छ तर नेपालीमा न्यूयोर्कबाहेक अन्य राज्यमा त्यति संक्रमण फैलिएको छैन,’ उनले थपे, ‘अमेरिकीहरूले स्टेहोम अर्डर पालना नगर्दा संक्रमण बढेको देखिन्छ । हामी नेपालीहरू घरमा नै सुरक्षित छौं तर त्रास धेरै छ ।’
अमेरिकाको टेक्सास राज्यमा बस्दै आएका बाग्लुङका भूमिराज सापकोटा पनि घरबाट निस्केका छैनन् । ‘सरकारले स्टेहोम अर्डर त भनेको छ तर मानिसहरू अत्यावश्यक काम भन्दै बाहिर हिँड्छन् । जसले गर्दा बाहिरको मानिसहरूको चाप घटेको छैन ।’
सापकोटा भन्छन्, ‘टेक्सासमा अहिलेसम्म ११ हजारलाई कोराना संक्रमण भएको छ तर हामी नेपालीहरू पनि नियमित अनलाइनमा छलफल र सोधखोज गर्छौं । अहिलेसम्म यो स्टेटमा रहेका २–४ जना नेपालीलाई संक्रमण भएपनि मृत्यु कसैको भएको छैन ।’
अमेरिका अहिले कोरोना संक्रमणको केन्द्रमा रहेको छ । चीनको वुहानबाट कोरोना संक्रमण शुरू भएपनि अमेरिकामा अहिले सर्वाधिक फैलिएको छ । युरोपमा कोरोनालाई सामान्य रुपमा लिएर हेलचेक्र्याइँ गर्दा संक्रमण बढेको सापकोटाको भनाइ छ । सापकोटाले नेपालीहरू अझै अमेरिकामा डराउनुपर्ने अवस्थामा नरहेको र घरमै बसेकाले संक्रमण त्यति नफैलिएको बताए ।
बुधवार बिहानसम्म विश्वकै शक्तिशाली राष्ट्र अमेरिकामा कोरोना संक्रमण ४ लाख ८ हजार ८५९ जनामा देखिएको छ भने १२ हजार ८०० जनाको मृत्यु भएको छ । न्यूयोर्कमा बस्ने केही नेपालीमा कोरोना संक्रमण भएपनि त्यति खुल्न नचाहेको जानकारीमा आएको बताइएको छ ।
भर्जिनियामा बस्दै आएका बुटवलका सपनकुमार एन्जिलले त्रासबीच नेपालीहरू घरभित्रै बसिरहेको बताए । ‘यहाँ ३ हजार ५०० जति नेपाली हाम्रो सम्पर्कमा छन् । तिनीहरूमध्ये ८० प्रतिशत घरबाहिर निस्केका छैनन् । जसले गर्दा डरबीच सुरक्षित रुपमा बसेका छन्,’ एन्जिलले भने ।
भर्जिनियामा होटल रेस्टुरेन्ट र बारहरू बन्द रहेपनि सार्वजनिक यातायातका बस सञ्चालनमा रहेका छन् । त्यहाँको सरकारले घरमै बस्नेलाई हप्तामा ६०० डलर दिने गरेको छ । नेपालको छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोनो भाइरसको ‘इपिसेन्टर’ शक्तिराष्ट्र अमेरिका बनेको छ । त्यसमा पनि अमेरिकाको सबैभन्दा बढी संक्रमण न्यूयोर्कमा छ । जहाँ बुधवार बिहानसम्म १ लाख ३९ हजार ८७६ व्यक्तिमा संक्रमण देखिएको छ भने ५ हजार ४८९ जनाको मृत्यु भएको छ ।
भर्जिनियामै बस्ने बुटवलका विष्णु न्यौपानेले नेपालीहरू सुरक्षित रहेर बसिरहेको बताए । ‘यहाँ नेपालीहरूको एउटा संस्था एनएसीसी छ । यो संस्थामा चिकित्सकहरू पनि छन् । नेपालीहरूमा संक्रमण देखिए के गर्ने, कसरी अरुलाई संक्रमण फैलिन नदिने भन्ने पनि सिकाइन्छ । अहिले विश्वकै धेरै संक्रमण अमेरिकामा फैलिएको हुँदा त्रास बढेपनि डराइहाल्नुपर्ने अवस्थामा नेपालीहरू छैनन,’ उनले भने ।
अमेरिकामा झण्डै ४ लाख नेपालीको बसोबास रहेको अनुमान छ ।