
पत्रकार एवं गीतकार नृपेश उप्रेतीको गजल संग्रह ‘मुसाफिर’ सार्वजनिक भएको छ । शनिवार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडेल, युवा गजलकार रुपक बनवासी, संगीतकार अर्जुन पोखरेलले सार्वजनिक गरे ।
उप्रेतीको गजलमा काव्यिक रस भएको टिप्पणी गर्दै गजलकार ज्ञानुवाकर पौडेलले बेलायतमा बसेर पनि उप्रेतीले नेपाली साहित्यमा योगदान दिएको टिप्पणी गरे । प्राण नभएको मान्छे र बास्ना नभएको फूलको समाजमा औचित्य नहुने भन्दै काव्यिक रस नभएको गजल काम नलाग्ने टिप्पणी गर्दै पौडेलले भने ‘मुसाफिरभित्र प्रसस्त काव्यिक रस छ ।’ गजलका केहि हरफ पढ्ने बित्तिकै आफु प्रभावित भएको भन्दै उनको गजलमा नेपाली पन भेटिएको पौडेलको भनाई थियो ।
गजलकार रूपक बनवासीले उप्रेतीका गजलले आफुलाई प्रभावित भएको भन्दै प्रारम्भमा उप्रेतीलाई केही सुझाब समेत दिएको बताए । संगीतकार अर्जुन पोखरेलले उप्रेतीको गजलबाट प्रभावित भएको कुरो मात्रै गरेनन् । फिल्म संगीतमा केहि गजल राखेकोमा कतिपयले गीत भनेर टिप्पणी गरेकोमा दुःखेसो पोखे । मुसाफिर पढेपछि चलचित्रमा गजललाई राख्न प्रेरणा मिलेको उनको भनाई थियो ।

कार्यक्रममा उप्रेतीले आफ्ना बुबा स्वं योगराज उप्रेतीको नाममा गजल सम्मानका लागि १२ हजार ५ सय पुरस्कार स्थापना गरे । सो पुरस्कार गजलकारलाई प्रदान गरिने भएको छ । त्यस्तै, उनले आमा नन्दकुमारी उप्रेतीको नाममा पनि १२ हजार ५ सय पुरस्कार घोषणा गरे । सो पुरस्कार कृतिका लागि प्रदान गर्ने जानकारी दिए ।
पुरस्कार मेहफिल बाबु त्रिपाठी र टिमले दिने भएको छ । उप्रेतीले गीति एल्बम ‘आहान अर्को खुसी’ को रोएल्टी चितवनका गाउँबेंसी चेपाङ संरक्षण केन्द्रलाई प्रदान गर्ने घोषणा समेत गरे । साथै उनले मुसाफिरवाट आएको रोएल्टी पनि विभिन्न सामाजिक संघसंस्थालाइ दिने घोषणा गरेका छन् ।
पुराना पत्रकार एवं गीतकार उप्रेती अहिले बेलायतमा बसोबास गर्छन् । आफु बेलायत बसेपनि नेपाललाई कहिल्यै नबिर्सने उनको भनाई थियो ।