१० साउन २०८३, आइतबार

लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर

असार १९, २०८३
काठमाडौं
लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर
फाइल फोटो

नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोकतन्त्र, संविधान र राष्ट्रियताको संरक्षणका लागि नेपाली कांग्रेसभित्र पूर्ण एकता कायम गर्नुको विकल्प नरहेको बताएका छन्।

कांग्रेसको भ्रातृ संस्थाका नेताहरूसँग बानेश्वरमा भएको छलफलमा नेता महरले नेपाली कांग्रेसभित्र बढ्दो गुटबन्दी र आन्तरिक विवादप्रति चिन्ता व्यक्त गर्दै पार्टीभित्र संवाद, सहमति र आपसी विश्वासको वातावरण निर्माण गर्न सबै पक्षलाई आग्रह गरे।

नेता महरले नेपालको राजनीतिक इतिहास स्मरण गर्दै भने, 'जब-जब नेपाली कांग्रेस कमजोर वा विभाजित भएको छ, त्यसको असर केवल पार्टीमा सीमित नभई लोकतान्त्रिक व्यवस्थामै परेको इतिहास छ। कांग्रेस विभाजनपछि निरंकुश शक्तिहरू बलियो बनेका उदाहरणहरू हाम्रो सामु छन्। त्यसैले इतिहासबाट शिक्षा लिएर आज पार्टीलाई एकताबद्ध बनाउनु सबैको साझा दायित्व हो।'

वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक मूल्य मान्यता, सुशासन र जनउत्तरदायित्वका विषयमा बहस भइरहेको बताउँदै उनले यस्तो अवस्थामा नेपाली कांग्रेस अझ जिम्मेवार, सशक्त र एकताबद्ध भएर प्रस्तुत हुनुपर्ने बताए। 'व्यक्तिगत महत्वाकांक्षा र गुटगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हित, लोकतन्त्र र जनताको भविष्यलाई केन्द्रमा राख्नुपर्छ। नेपाली कांग्रेस एकताबद्ध भए लोकतन्त्र बलियो हुन्छ, राष्ट्र बलियो हुन्छ र जनतामा आशा जाग्छ,' महरले भने।

नेता महरले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आपसी मतभेद संवादमार्फत समाधान गर्दै एकताको पक्षमा उभिन आग्रह गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्