१२ साउन २०८३, मंगलबार

सुदूरपश्चिम सरकारले राहतको लागि स्थानीय तहलाई पठायो १६ करोड

बैशाख ४, २०७७
सुदूरपश्चिम सरकारले राहतको लागि स्थानीय तहलाई पठायो १६ करोड

सुदूरपश्चिम प्रदेश सरकारले घोषित राहत रकम वितरणको लागि स्थानीय तहलाई रकम पठाएको छ ।

गरीब, असहाय र विपन्नलाई प्रतिपरिवार ३ हजार रुपैयाँका दरले राहत दिने भनी घोषणा गरेअनुसार प्रदेश सरकारले प्रदेशस्थित सबै स्थानीय तहलाई १६ करोड बजेट पठाएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउतले राहत वितरणको मापदण्ड अनुसार वितरणको लागि रकम निकासा गरिसकेको जानकारी दिँदै लकडाउनको अवधिभित्रै स्थानीय तहमार्फत वितरण हुने बताए । प्रदेश सरकारको चैत २७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट राहत दिने निर्णय गरेको थियो ।

मापदण्ड अनुसार यसअघि राहत प्राप्त गरिसकेका नदोहोरिने गरी वितरण गरिने भएको छ । प्रतिपरिवार ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नून, २ लिटर खानेतेल, ४ वटा साबुन र २ किला चिनी वितरण गरिने भएको छ ।

प्रदेश सरकारबाट निकासा रकम प्राप्त भएपछि स्थानीय राहत वितरणको तयारीमा लागेका छन् । यसघि पनि विभिन्न निकायद्वारा सहयोगार्थ राहत वितरण गरिसकेको बताउँदै कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले पुनः केही दिनभित्रै वितरण गरिने जानकारी दिए तर कैलाली गाउँपालिकामा गरीब, असहाय र विपन्नको अनुपातमा रकम निकासा कम आएको उनको भनाइ थियो । कैलारी गाउँपालिकालाई २४ लाख रकम प्राप्त भएको छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले यसअघि २० लाख बराबरको राहत वितरण गरिसकेको बताउँदै पुनः वडा कार्यालयमार्फत राहत वितरणको तयारीमा रहेको जानकारी दिए ।

कोरोना भाइरस (कोभिड– १९) को महामारी फैलिएपछि प्रदेश सरकारले राहत प्याकेज घोषणा गरेको थियो ।

कमेन्ट गर्नुहोस्