
नेपालका ग्यास उद्योगीका तर्फबाट सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा १५ लाख उपलब्ध गराएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उद्योगीका तर्फबाट उक्त रकम बराबरको चेक उपलब्ध गराइएको हो।
सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैतमा कोष स्थापना गरेको थियो। कोषमा गत शुक्रबारसम्म कूल दुई अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ बराबरको सहयोग रकम जम्मा भएको छ।
मन्त्री भट्टको सचिवालयका अनुसार एलपिजी ग्यास उद्योग सङघले कोषमा रकम जम्मा गरेको हो। सङ्घका तर्फबाट अध्यक्ष गोकुल भण्डारीले मन्त्री लेखराज भट्टलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे।