
देशभर लकडाउन छ तर उनलाई त्यसको पर्बाह छैन । कारण – उनलाई बिरामीको स्वास्थ्यको चिन्ता छ ।
कोरोना भाइरसको त्रास फैलिएको शुरूआतका केही दिन गण्डकी प्रदेशमा केही चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यक सुरक्षा सामग्री नपाएको भन्दै सामान्य खोकी र ज्वरोका बिरामी पनि जाँच्न मानेनन् । बिरामीको नजिक पर्नै डराए ।
तर डा. कृष्णप्रसाद कोइराला अभिन्न रुपमा बिरामीको स्वास्थ्य जाँचमा खटिई नै रहे । १ महिनायता उनले लगातार पोखराको मणिपाल शिक्षण अस्पताल र पोखराकै नयाँबजार फार्मेसी (ईएनटी केयर सेन्टर) मा बिरामीको उपचार गरिरहेका छन् ।
नाक, कान, घाँटी रोग विशेषज्ञ डा. कोइरालाले भने, ‘हामीहरूको पेशा नै बिरामीको स्वास्थ्य जाँच गर्नु हो । उनीहरूको उपचार नै धर्म हो । चाहे जस्तोसुकै कठिन परिस्थिति परोस् ।’
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभाव नेपालमा पनि परेसँगै सरकारले स्वास्थ्य सुरक्षार्थ चैत ११ गतेदेखि लकडाउन गरेको छ । त्यसको १ महिना बितिसकेको छ । हालसम्म ५९ जनामा संक्रमण देखा परेकोमा बढ्ने क्रम जारी छ । राजधानी बाहिर पहिलो पटक गण्डकी प्रदेशअन्तर्गत बागलुङमा कोरोना संक्रमित देखा परे ।
पर्यटकीय शहर पोखरा भएकाले पनि गण्डकी छिर्ने सम्पूर्ण मुख्य नाकाहरू बन्द गर्ने घोषणा प्रदेश सरकारले संघीय सरकारले लकडाउन गर्नु पूर्व नै गरेको हो । सीमित स्रोतसाधन र जनशक्तिबीच स्वास्थ्य सेवा दिनुपर्ने अवस्थामा गुज्रिरहेको गण्डकीमा पनि कोरोनाको भय उत्तिकै थियो । लकडाउन घोषणसँगै साना क्लिनिक मात्र होइन, ठूला–ठूला भनिएका अस्पतालले समेत बिरामीलाई गेटबाटै फर्काएको पाइयो ।
‘आफ्नो कर्म नितान्त सेवा’ भन्न रुचाउने डा. कोइरालाले कोरोना संक्रमणको भयावहबीच शुरूआतदेखि नै दिएको जुन सेवा छ, त्यसको उच्च प्रशंसा भइरहेको छ । सामाजिक सञ्जालमार्फत पनि उनको सेवाको तारिफ गरिएको छ ।
मणिपाल शिक्षण अस्पतालमा नाक, कान, घाँटी रोग विभागको जिम्मेवारी सम्हालेका उनी त्यहाँ सहप्राध्यापक पनि हुन् । पोखरा नयाँबजारमा उनले २ वर्षयता सुविधासम्पन्न नयाँबजार फार्मेसी (ईएनटी केयर सेन्टर) चलाएका छन् । त्यहाँ नाक, कान, घाँटी, टाउको सम्बन्धी तथा थाइराइड रोगको उपचार हुन्छ । पोखराकै फेवासिटी अस्पतालमा पनि उनले स्थापनाकालदेखि नै सेवा दिए ।
उनका अनुसार वास्तवमा नाक, कान, घाँटीसम्बन्धी समस्या जटिल प्रकारको समस्या हो । अलि संवेदनशील पनि हुन्छ । बिरामीमा दुखाइ बढी हुने हुँदा तत्काल उपचार खाँचो पर्छ । ‘कोरोना भयबीचमा म त्यत्तिकै बस्न सकिनँ । शुरूआतमा केही दिन सामाजिक सञ्जाल, टेलिफोनबाटै पनि निःशुल्क परामर्श दिन थालें,’ डा. कोइरालाले लोकान्तरसँगको कुराकानीमा भने, ‘बिरामीहरूले हाम्रो फार्मेसी शुरूआतदेखि नै नियमित रुपमा खुलेको थाहा पाएपछि टाढा–टाढाबाट पनि आउन थाल्नुभयो । किनकि लकडाउनले सबैतिर बन्द होला भन्ने भ्रम उहाँहरूमा रहेछ । यतिबेला पहिलेजस्तो ठूलो संख्यामा बिरामी नभएपनि दैनिक १५/२० जना जति बिरामीलाई सेवा दिइरहेको छु । टेलिफोन वा फेसबूक म्यासेन्जरबाट पनि दैनिक ५० जना जतिलाई निःशुल्क परामर्श दिँदै आएको छु ।’
बिरामी जाँच्दा नजिकै रहेर जाँच गर्नुपर्ने हुन्छ । नाक, कान, घाँटीको बिरामी भएपनि कोही कोरोना भाइरसबाट संक्रमित पनि नहोला भन्न सकिन्न । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका बेला दिइरहेको सेवाबारे बताउँदै उनले भने, ‘मैले आवश्यक स्वास्थ्य सामग्री प्रयोग गरेरै जाँच गरेको हुन्छु । बिरामीको जाँचका बेला हातमा पञ्चा, मुख छोप्ने लगायतका उपाय गरेको छु । बिरामीलाई पनि सकेसम्म मास्कको प्रयोग गर्न सुझाउँछु ।’
कोरोना कहरको बेलामा आफ्ना विद्यार्थीको हितका लागि उनले अनलाइन कक्षा पनि चलाएका छन् । लामो समयको बन्दले पढाइ प्रभावित हुने हुँदा दैनिक रुपमा उनले अनलाइनमार्फत मणिपाल शिक्षण अस्पतालका विद्यार्थी पढाउने गरेका हुन् ।

जन्मथलो स्याङ्जा, कर्मथलो पोखरा
स्याङ्जाको भीरकोट–७ का चूडामणि कोइराला र ओममाया कोइरालाका ४ छोरा र ४ छोरीमध्ये उनी जेठा हुन् । सामान्य परिवारमा जन्मिएका उनमा सानैदेखि पढाइको महत्त्वबारे चेत खुल्दै गयो । सधैं अब्बल बने । २०४८ सालको प्रवेशिका परीक्षामा स्याङ्जा वालिङको पायोनियर्स इङ्लिस बोर्डिङ स्कूलबाट प्रथम श्रेणीमा उत्तीर्ण भए ।
पछि काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल) बाट आईएस्सी उत्तीर्णपछि काठमाडौं विश्वविद्यालयअन्तर्गत मणिपाल शिक्षण अस्पतालमा एमबीबीसको लागि नाम निकाल्न सफल भए । नाक, कान, घाँटीमा सन् २००७ मा एमएस अर्थात जनरल सर्जरीमा पोस्ट ग्राजुयट गर्न सफल भए ।
एसएलसी पास गर्दाताकासम्म गाउँका सीएम नै डाक्टर हुन् भन्ने भ्रम थियो । पछि काठमाडौंमा आईएस्सी पढ्ने बेला विस्तृत जानकारी मिलेको उनले बताए । गाउँको दूरदराजमा सामान्य सिटामोल पनि नपाउँदा मानिस इन्तु न चिन्तु हुनुपरेको अवस्था उनले सानैमा देखे–भोगेका थिए । ठूलो बनेर सेवा गर्छु भन्ने भाव पहिलेदेखि नै थियो, नभन्दै कठिन परिश्रमसँगै उनी चिकित्सक पेसामा भिज्न सफल भए । नाक, कान, घाँटीको उपचार गर्नुपरे पोखरामा उनको नाम अग्रपंक्तिमै आउँछ । नाक, कान, घाँटीको उपचार गर्ने चिकित्सक पोखरा क्षेत्रमा मात्र डेढ दर्जन जति छन् तर उनीकहाँ एकफेर उपचारका लागि आउने बिरामी हत्तपत्त अर्कोलाई गुहार्दैनन् । उनी पनि पोखरा छोडेर अन्यत्र गएनन् । अन्यत्र जान सक्थे होलान् । स्याङ्जादेखि नजिकैको पोखरेली हावापानी र माटोमा भिजेका छन् ।
रगत दिएर उपचार
पोखरामा पढाइ सकिएलगत्तै यहीँ रहेर निरन्तर सेवा दिँदै आएका उनले यसबीचमा झण्डै १० हजार जना बिरामीको नाक, कान, घाँटीको सफल शल्यक्रिया गरेको बताए । यसरी युवावस्थामै सफल चिकित्सक कहलिएका उनलाई खोज्दै टाढाटाढाबाट बिरामी आउँछन् । उनको विचारमा चिकित्सा पेशा मात्रै होइन, यो सेवा गर्ने अवसर पनि हो । कतिपय अवस्थामा उनले स्वयं रगत दिएर पनि बिरामीको उपचार गरेको अनुभव सुनाए । क्लिनिकमा आउने कोही गरीब तथा असहाय भएको पाइए निःशुल्क उपचार गर्छन् । ठाउँठाउँमा निःशुल्क स्वास्थ्य शिविर चलाउँछन् ।

उनको विचारमा नेपालमा हाल ईएनटी उपचारको लागि सुविधासम्पन्न उपकरण विकास भएका छन्, पहिले जस्तो अहिले छैन । डा. कोइराला भन्छन्, चिकित्सा पेशा बाहिरबाट हेर्दा जति आकर्षक छ, त्यत्तिकै चुनौतीपूर्ण पनि छ ।’ आफूले उपचार गरेका बिरामी निको भइ आभार दर्शाउँदा निकै खुशी लाग्ने उनी बताउँछन् ।
पोखराकै गौरी केसीसँग विवाह बन्धनमा बाँधिएका उनका २ छोरा छन् । छोराहरूलाई पनि उनीहरूको इच्छाअनुसार पढाएर आत्मनिर्भर बनाउने उनको धोको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलन र सेमिनारमा थुप्रै पटक भाग लिन पुगेका डा. कोइरालाले अन्यसँगको सहकार्यमा दर्जन बढी जर्नल तथा पुस्तक प्रकाशन समेत गरेका छन् ।