२८ असार २०८३, आइतबार

कोरोनाको कहरसँगै मगमगाउन थालेको ‘इ–डेमोक्रेसी’

बैशाख २५, २०७७
कोरोनाको कहरसँगै मगमगाउन थालेको ‘इ–डेमोक्रेसी’

सबैलाई जाहेर छ – विश्व रोगी छ, बिरामी छ, तनाव, दबाब र प्रभावबाट प्रभावित छ र असुरक्षाको चरम विन्दुमा रन्थनिएको छ ।

कोरोनाको कष्ट, आर्तना, रोदन र संकटबाट कसरी छुटकारा पाउने भनेर लामो स्वास तान्दैछ । विश्वका कैयौ युवाहरू यसको न्यूनीकरण, निराकरण र निर्मूलको खोज र सोधमा मस्त छन् । बुद्धि र दिमागको प्रयोग गर्दैछन् ।

हामीहरू भने बुद्धिको होइन, मनको प्रयोग गर्दैछौं । आफूलाई सामाजिक सञ्जालका काल्नाहरूमा हजारौं पटक हाँसीमजाकका पात्र बनाइरहेका छौं ।

अमूल्य समय प्रोफाइल पल्टाउँदै पुराना स्टोरीहरू खोतल्दै छौं । मानौं, खानी उत्खनन् गर्दैछौं । प्रयोगशालामा परीक्षण गर्दैछौं । फेसबूक, ट्विटर, टिकटक लगायतका सामाजिक सञ्जालका भाँडाहरूमा सयौं एमबीको डाटा लिएर आफूलाई सार्थक र अब्बल रुपमा बेजोडले प्रस्तुत गरिरहेका छौं ।

यसरी कि मानौं हामी नासाको आविष्कारको लागि केही मेहनत गर्दैछौं । केही दुःख गर्दैछौं । केही सोध गर्दैछौं । सोच्ने र गर्ने अनेकौं क्षेत्र र विषयहरू छन् । मन, मस्तिष्क र मनहरू त्यता पनि चलाउन सकिन्छ । शारीरिक दूरी कायम गरौ मात्र भनेकोे हो, बाँकी परिवारिक सुसम्बन्धलाई थप गति दिने मौका पनि त हो यो । 

कुनै व्यक्तिले सम्पादन गर्ने कार्यहरू र प्रस्तुत गर्ने व्यवहार उसको मात्र परिचय होइन, स्वयं उसको परिवारको पनि परिचय हो । कसैलाई नयाँ लेखक, अभिनेता, अभिनेत्री र नेतृत्वको परिचय बनाइदिएको छ भने कसैलाई कसूरदारको परिचयसम्म पुर्‍याइदिएको छ । 

सञ्जालमा सबै लाभका कुरा मात्र छैनन्, लाजका कुरा पनि छन् । केही लुकाउनुपर्ने कुरा छन्, केही खुलाउनु पर्ने कुरा छन् । व्यक्तिगत सूचना र डाटा चोरी र तस्करीका विषय पनि छन् ।

सामाजिक सञ्जाल बिस्तारै सूचना सञ्जाल भएको छ । सूचनाको तीव्र प्रसारण र वितरण हुने हब बनेको छ ।

त्यसकारण आधिकारिक सूचना पोस्ट, शेयर र ट्याग गर्दा मात्र सही सूचनाको प्रवाह भई व्यक्ति सू–सचित र सजग भई सभ्य समाजको स्थापना हुन्छ । कैयौ फेक सूचना र जानकारीले व्यक्तिलाई दिग्भ्रमित गरिरहेका हुन्छ । उसलाई गुमराहामा राखेको हुन्छ । त्यस्ता सूचनाले व्यक्ति र संस्थागत हित गर्दैनन् ।

विश्वको दूरी धेरै दूर भएन । छिनभरमै विश्वका हरथोक विश्वव्यापीकरण र स्थानीयकरण हुन्छन् । विश्व एक घर भएको प्रतित सामाजिक सञ्जालहरूले दिइरहेकै छन् ।

शासनको प्रभावकारिताको मापन र अप्रभावकारिताको मूल्यांकन पनि यिनैमार्फत हुन थाल्यो । इ–डेमोक्रेसीको गतिशिलता पनि सामाजिक सञ्जालका रुटमा दौडिन थाल्यो । व्यक्तिको सफलताको चर्चा र असफलताको दुर्गन्ध यसले छिनभरमै संसारमा फैलिन, सच्चिन र सुध्रिन बाध्य पार्न थाल्यो । 

विश्वको कुनै उत्पादन, उन्मूलन र उत्खनन् विश्वको साँझा उपभोगको विषय बन्न पुगेको छ । कोरोना नियन्त्रणका विधि र प्रविधिको प्रयोगमाथिको पहुँच र प्रयोग यसको विकास विना कसरी सहज र सरल थियो र ? अमेरिकन नागरिकले मृत्यवरण गर्दा नेपाली नागरिक दुःख व्यक्त गर्ने यो जतिका साझा ‘प्लेट फर्म’ दुनियाँमा अर्को के हुनसक्छ ?

साच्चै ! इ–गभर्नेन्सको आधार तय भएको छ । इ–डेमोक्रेसीको विकासमा सहजता थपिएको छ । सार्वजनिक सेवा, बैंकिङ सेवा र अनलाइन सेवा धमाधम प्रदान हुन थाले । राज्यका हरेक अंगहरू इन्टरनेटको प्रयोगमार्फत अनलाइन सेवाहरू वितरण गर्न थाले । व्यक्ति तथा नागरिकको पहुँच पुग्ने, प्रत्यक्ष सहभागी हुने र समय र खर्चका हिसाबले काइदाको व्यवस्थाको अवलम्बन हुँदैछ ।

यद्यपि यसका पनि आफ्नै कमीकमजोरी होलान्, त्यो अलग विषय हो तर इ–तालिम, इ–शिक्षा, इ–स्वास्थ्य लगायतका व्यवस्थाको जुझारु शुरूआत भएको छ ।

इ–डेमोक्रेसीको व्यवस्थित र व्यापक अनुभूति हुन थालेको छ । पढ्न, लेख्न, सेमिनार, गोष्ठी र छलफल गर्न भोलि भौतिक उपस्थितको आवश्यकता नपर्न सक्छ । शासनका पात्रहरूको मूल्यांकन गर्दै इ–कारवाही गर्दै पदच्यूत समेत गरी अर्को पात्रलाई सेवा र पेशाप्रति बफादार हुन उद्येलित गरिदिएको छ । 

कसैले कसैको कामको बेलिविस्तार लगाउनु पर्दैन । सबै खुला छन् । स्पष्ट छन् । सही र गलत मूल्यांकन गर्ने न्यायालय बाहिरका ‘जज’को समेत स्थापना भयो । यसमा अदम्य शक्ति छ ।

कसैलाई हटाए र घटाउन सक्छ । यसले एक खुला समाजको स्थापनामार्फत सबैलाई जोडेको छ । यसले सेवा वितरणहरू मात्र होइन, विश्वका अप्ठ्यारा र अवरोध समेत एकीकृत गरेका छ । विश्व बन्धुत्वको सिद्धान्तलाई आत्मसाथ गरेको हुन्छ ।

प्रजातन्त्रले हरेक व्यक्तिसँग अपेक्षा गरे जस्तै इ–डेमोक्रेसीले पनि केही अपेक्षा राखेको हुन्छ । यसले सामूहिक निर्णय र त्यसको वैधानिक परीक्षण गर्न जनताको मत अभिमत स्वस्थ भएर राख्न साझा अवसर प्रदान गर्दछ । यो छाडापना अपेक्षा राख्दैन । विशेषतः इ–प्रजातन्त्रमा साक्षर, बुद्धिवान र सचेतहरू जोडिएका हुन्छन् ।

यस्तोमा झन् अपराध कम हुनुपर्ने तर अपराधको दर बढ्दो छ । यसले के प्रमाणित गर्दछ भने अपराध निरक्षरभन्दा साक्षरबाट बढी हुन्छ ।

यी समय बेतित गर्ने बेकामका मनोरञ्जनका साधन मात्र होइनन्, व्यक्ति चिन्ने, जानकारी लिने, व्यक्तिसँग सम्बन्ध सम्पर्क बढाउने र प्रतिभा जन्माउने थलो पनि हुन् । खराब प्रवृत्तिको सामूहिक भत्र्सना गर्ने साधन पनि हुन् ।

अन्ततः हरेक संकटले नविनताको बरदान प्रदान गर्छ । अहिलेका आईसीयू र भेन्टिलेटर पनि कुनै बेलाको महामारीले अन्वेषण गर्न पठाएका उपहार हुन् । अहिलेको संकटले पनि पक्कै नविनता छोड्न बाध्य बनाउने छ ।

वर्तमान संकटले खोज र अनुसन्धानको दायर थप फराकिलो र घनिभूत पार्ला नै तर वर्तमानमा नै इ–डेमोक्रेसीको बास्ना मगमगाउन थालेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्