
सप्तरीको शम्भुनाथ नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका जानकी मगरको परिवारलाई शनिबार राहत प्रदान गरिएको छ।
जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएकी मगरको परिवारलाई किरिया खर्चबापत डिभिजन वन कार्यालयले ५० हजार प्रदान गरेको छ।
कार्यालय प्रमुख जिल्ला वन अधिकृत सन्तोषकुमार झाले वडा २ स्थित घरमा पुगेर मृतकका श्रीमान् पेसल मगरलाई रकम हस्तान्तरण गरेको जनाइएको छ । वन अधिकृत झाले तत्काल मृतक परिवारलाई किरिया खर्चबापत रकम उपलब्ध गराएको बताउँदै राज्यपक्षबाट समेत सुविधाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए।
बिहीबार कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणमा परी ३८ वर्षीया महिलाको मृत्यु भएको थियो। घरमा सुतेकी उनलाई भाग्ने क्रममा हात्तीले कुल्चेर मारेको थियो। केही दिनयता सप्तरीको उत्तरी र पूर्वी भेगका जनता हात्ती आतङ्कबाट पीडित भएका छन्। सो क्षेत्रमा दैनिक कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीले आतङ्कित बनाएको स्थानीयवासीले बताएका छन्।