०९ साउन २०८३, शनिबार

पोखरामा छतबाट हाम फाल्ने युवकलाई कोरोना नभएको पुष्टि

बैशाख ३१, २०७७
पोखरामा छतबाट हाम फाल्ने युवकलाई कोरोना नभएको पुष्टि
प्रतिकार्यात्मक तस्वीर।

पोखरामा घरको छतबाट हाम फालेका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। 

भारतको कर्नाटकदेखि पोखरा आएका २१ वर्षीय ती युवकको पीसीआर टेष्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । नेपालको सोलुखुम्बु घर भएका ती युवक पोखरा ८ इन्द्रपुरी टोलमा बस्दै आएका थिए। उनी ३ महिना अघिमात्र कामको खोजीमा भारत गएका थिए। 

भारतबाट फर्किएपछि ती युवकमा कोरोना संक्रमण भएको हुन सक्ने त्रासले स्थानीयले प्रहरी गुहारेका थिए। मंगलबार उनलाई क्वारेन्टाइनमा राख्नका लागि उनी बस्ने स्थान पोखरा ८ मा प्रहरी सहित जनप्रतिनिधिको टोली पुग्दा ती युवक घरको छतबाट हाम फालेर भाग्न खोजेका थिए। उनको मंगलबार नै र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) नेगेटिभ आएकोमा भोलिपल्ट पीसीआर टेष्टको नतिजा आएको हो।

गत १ मे तारिखमा भारतबाट हिडेका उनी विभिन्न गाडी फेर्दै ३ साता लगाएर पोखरा आएका हुन्। उनका अनुसार हैदरवादका पुलिसले उनलाई ट्रकमै हालेर नेपाल पठाएका थिए। नेपालको नाका छिर्ने बेलामा पुलिसलाई भारु ५ सय दिएपछि छिर्न पाएको जनप्रतिनिधिसँग स्वीकारेका थिए। उनले विभिन्न ठाउँमा स्वास्थ्य परीक्षण समेत गर्दैआएको दाबी गरेका छन्।  

गण्डकीमा हालसम्म ७ सय ५७ जनाको नमुना संकलन भएकोमा ७ सय २७ जनाको परीक्षणमा नेगेटिभ आएको छ। संक्रमित २ जना निको भइ घर फर्किसकेकोमा २८ जनाको नतिजा आउन बाँकी रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

यस्तै, हालसम्म ६ हजार ७ सय १६ जनाको आरडीटी गरिएको छ । सबैको नतिजा नेगेटिभ छ । 

यसैबीच, पोखराको लेखनाथ लायन्स सामुदायिक अस्पताललाई प्रदेश मातहत ल्याउन क्षेत्रीय निर्देशनालयले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतसमक्ष तयार पारिएको प्रतिवेदन बुधबार हस्तान्तरण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्