
- युवराज मैनाली
जे खाए पनि
जति खाए पनि
कहिल्यै नअघाउने
हे अगस्ति !
भन त,
कति खाएपछि ?
के खाएपछि ?
तिमी अघाउॅंछौ ?
***
पाखा र पर्वत खायौ
जल र जमिन खायौ
बारी र खेत खायौ
आली र माली खायौ
बाली- नाली खायौ
चरन चपायौ
वन खायौ
तन चिमोठ्यौ
मन निमोठ्यौ
भान्छे भएर मान्छे खायौ
चितुवालाई जित्यौ
मुटु - कलेजो निल्यौ
रगतमा पौडी खेल्यौ
रगतैले तिर्खा मेट्यौ
तैपनि तिमी
सधैं भोकै छौ
तिर्खाले आकुल-व्याकुलै छौ
हे , अगस्ति !
भन त ,
कति खाएपछि ?
के खाएपछि ?
तिमी अघाउॅंछौ ?
***
बगर खायौ
नहर खायौ
ढुंगा खायौ
गिटी खायौ
सिमेन्ट खायौ
बालुवा खायौ
सडक र गल्ली खायौ
पेट्रोल र डिजेल खायौ
डोजर र अलकत्रा खायौ
दुध र तेल खायौ
बस र ट्रक पचायौ
विमान र हेलिकप्टर निल्यौ
सुन खायौ
चन्दन चपायौ !
अचम्म लाग्छ !
अझै भरिॅंदैन
तिम्रो पेट !!
***
तराईका फाँट र पहाडपर्वतहरू
बस्तीका मानव र असंख्य जीवहरू
पसिसके तिम्रै पेटभित्र
तैपनि
तिमी अघाउॅंदै अघाउॅंदैनौ
कस्तो अचम्म !
***
कोरोनाका कहरहरू
थाती राखेर
अझै फैलाइरहेका छौ
आफ्ना लामा हात !
***
आस्था, नैतिकता र इमान
सबै सबै बिर्सिएर
धेरै धेरैका
निद्रा , सपना र बिपना
निलिसक्यौ
पचाइसक्यौ
आश्चर्य !
तैपनि तिमी अघाउॅंदैनौ !!
***
भन त ए , अगस्ति !
‘ब्ल्याकहोल’ जस्तो
रहस्यमय र अनौठौ
तिम्रो त्यो विशाल पेट
केले भरिन्छ ? कहिले भरिन्छ ! ?
****
धुम्बाराही , काठमाडौ ।