
धनगढी उपमहानगरपालिका–८ मनेहरास्थित मुक्तकमैया शिविरका ६४ वर्षीय आशाराम डंगौरा थारु शारीरिक रुपले असक्त छन् । हिँड्न सक्दैनन्,आँखा पनि देख्दैनन् ।
डंगौराका छोरा कामको खोजीमा भारत पसेको ६ वर्ष बितेको छ । २ वर्षसम्म सम्पर्कमै रहेका उनका छोरा ४ वर्षयता सम्पर्कविहीन छन् । उनकी पत्नी पनि गएको पुसमा दुनियाँ छाडेर गइन् । त्यसयता उनी एक्लो र बेसहारा छन् ।
जीवनको उत्तराद्र्धमा उनी छिमेकीको सहारामा बाँचेका थिए । उनै छिमेकी कोरोना भाइरस (कोभिड १९) महामारीले संकटमा फसेपछि उनको जीवन नै दाउमा परेको थियो ।
तर धनगढी उपमहानगरपालिका–७ का विष्णु खनालले सहयोग सामग्रीसहित उनको चुल्हो बाल्न पुगेपछि निभेको उनको मन ढपक्क बल्न पुगेको छ ।
‘मेरो त छिमेकीको भान्सामा खाना पाक्छ,’ डंगौराले भने, ‘यो संकटमा हामीलाई सहयोग गर्ने उहाँ हाम्रो लागि भगवान् जस्तै हो । आफ्नै छोराको सहारा नपाएको यो वृद्ध अवस्थामा भगवान्ले मलाई अर्को छोरो पठाएको अनुभूति भएको छ ।’
शिविरका ६५ वर्षीय बेचन डगौरा र उनकी ६४ वर्षीया पत्नी सुख्नीदेवी डगौरा पनि खनालको सहयोगबाट हर्षित छन् । बेचनका ३ दाजुभाइ आ–आफ्नो परिवारसहित अलग बसेका छन् । कोरोनाको संकटमा अप्ठ्यारोमा परेका ती परिवारलाई पनि खनालको परोपकारी कदमले बुढेसकालमा दुःखेको मनमा मल्हम लगाएको छ ।
बेचन र सुख्नीसँग ११ वर्षीय नाति पनि छ । उनकी माइली बुहारीले विष सेवन गरेर आत्महत्या गरेपछि उनको माइलो छोराले अर्को विवाह गरेका छन् । माइलो छोराको पहिलो बुहारीबाट जन्मेको बच्चालाई उनीहरूले आफूसँगै राखेका छन् ।
‘गाह्रो परेको बेला छोराहरू सहयोग गर्थे तर यो बेला उनीहरू आफैं समस्यामा छन्,’ सुख्नीले भनिन्, ‘शिविरका हामी सबै मजदुरी गरेर खाने परिवार बस्छौं । लकडाउन भएको २ महिना पुग्यो । यो बीचमा सरकारले पनि केही राहत दिएको छ तर काम पनि ठीकसँग गर्न पाएका छैनौं । आफ्नै स्रोत बन्द भएपछि अप्ठ्यारै हुन्छ । बेलाबेलामा खनाल छोराले गर्दै आएको सहयोगको कुनै मोल छैन ।’
दीनदुःखी देख्दा भावविह्वल हुने खनाल दीनदुःखी देख्दा आफ्नै विगत स्मरण हुने बताउँछन् । धेरै गर्न नसकेपनि थोरैलाई थोरै दिएर पनि सहयोग गर्न पाउँदा सुखानुभूति हुने उनले बताए ।
आफ्नो पनि आयस्रोत त्यतिधेरै नभएको बताउने उनी भन्छन्, ‘के भनौं,मन हुनेलाई धन हुँदैन,धन हुनेलाई मन हुँदैन । आफ्नो धेरै त छैन तर केही नभएकालाई थोरै सहयोग गर्न पाउँदा मन सन्तुष्ट हुन्छ ।’
उनी आजभोलि समस्यामा परेका वृद्धवृद्धा,अपाङ्गता भएका व्यक्ति र अनाथ गरी ४ मुक्तकमैया परिवारका १६ जनाको पेट पाल्नुका साथै आवश्यक अन्य सहयोग पनि गर्दै आएका छन् ।
शिविरका ६१ वर्षीय तेजुराम चौधरी पनि संकटको बेला खनालबाट सहयोग पाएको सुनाउँछन् । उनले आवश्यक सामग्री खनालबाट सहयोग पाएपछि राज्यले दिएको राहत फिर्ता गरेका छन् । उनी भन्छन्, ‘बरु हामी जस्तै गरीब परिवारलाई राहत दिनु भनेर नगरपालिकाले दिन लागेको राहत लिएका छैनौं ।’
खनालले मुक्तकमैया शिविरका बोल्न नसक्ने एक महिलालाई पनि सहयोग गर्दै आएका छन् । खनालले भने, ‘उहाँको पनि कोही छैन । नाम थाहा छैन उहाँको । उहाँलाई पनि थोरै सहयोग गर्न पाएको छु ।’
खनालले ती परिवारलाई लकडाउनको अवधिमा कुनै कुराको अभाव हुन नदिने बताए तर बढ्दो लकडाउनले उनलाई सहयोगको चिन्ता थपिँदै आएको छ । पहिलो चरणमा उनले दाल,चामल,नून,तेल,खुर्सानी,साबुन,कपडा र औषधि उपलब्ध गराएका छन् । दोस्रो चरणमा औषधि र खाद्यान्न उपलब्ध गराएको बताउँदै उनले हालसम्म ४ चरणको सहयोग गरेको बताए ।
ती मुक्तकमैयासँग खनालको साइनो २०५७ सालदेखि छ । त्यसताका उनी अमिन अध्ययन सकेर प्रयोगात्मकका लागि धनगढीका चित्रबहादुर कार्कीको घरमा जग्गा प्लटिङको काम गर्थे । कार्कीकै घरमा मुक्तकमैया आशाराम डंगौरालगायत कमैयाहरू पनि मजदुरी गर्थे । डंगौरासँगै एकै घरमा मजदुरी गरेका खनाल उनै डंगौरालाई सहयोग गर्न पाउँदा गौरव महसूस गर्छन् । विगतको संघर्ष र डंगौरासँग काम गरेका ती पलले खनाललाई परोपकारी बाटोमा डोर्याइरहेको छ ।
को हुन् विष्णु खनाल ?
कैलाली जिल्लाको कैलारी गाउँपालिका–२ रामपुर स्थायी घर भएका खनाल भन्छन्, ‘म बडो दुःख र संघर्ष गरेर आज केहीलाई थोरै दिने अवस्थामा छु । बाल्यकालमा च्यातिएको बोरामा सुतेको मान्छे हो । कामको खोजीमा भारत बस्दा एक गाँस रोटीका लागि निकै तड्पेको व्यक्ति हुँ । मजदुर र कमैयाको पीडा आफैं भोगेको छु । त्यसैले सहयोग गर्न मन लागिरहन्छ ।’
रामपुर गाउँमा खनालका आमाबुवा खेती किसानी गर्छन् भने उनी धनगढीमा टेम्पल रिसोर्ट होटल सञ्चालन गर्दै आएका छन् । सन् १९९८ मा भारतको मुम्बईमा पाँचतारे होटलमा रिसेप्सनिस्ट हुँदै होटल सम्बन्धी काम सिकेका उनी धनगढीका विभिन्न होटलमा काम गर्दै आजभोलि टेम्पल रिसोर्टमा सहसञ्चालकको भूमिका निर्वाह गर्दै आएका छन् ।