
गण्डकी प्रदेश सरकारले आगामी आव २०७७/०७८ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।
पोखरा सभागृहस्थित प्रदेशसभा बैठकमा दिउँसो ३ बजे प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।
नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, उत्पादन, रोजगारी लगायतलाई प्राथमिकता राखिने भएको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण पछिल्लो समय असहज बन्दै गएको अर्थतन्त्र चलायनमान बनाउनका लागि नीति तथा कार्यक्रमले समेट्ने छ ।
स्वास्थ्य उपचार, पूर्वाधार निर्माण, कृषि क्षेत्रमा यान्त्रीकरण तथा आधुनिकीकरण माध्यमबाट बढीभन्दा बढी रोजगारी सिर्जना गर्ने, उत्पादकत्व वृद्धि लगायत योजनालाई नीति तथा कार्यक्रमले समेट्ने सरकारले जनाएको छ ।
यसअघि प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको विनियोजन विधेयक, २०७७ को सिद्धान्त र प्राथमिकता पास भइसकेको छ ।
अर्थमन्त्री गुरुङले आगामी आवको बजेट कोरोना केन्द्रितसँगै संघीय सरकार र स्थानीय तहसँगको साझेदारीमा भौतिक पूर्वाधार विकास निर्माणका महत्त्वपूर्ण आयोजनालाई विशेष जोड दिइने जनाएका छन् ।
गण्डकी सरकारले आगामी आवको बजेट असार १ मा बजेट ल्याउने छ ।
प्रदेश सरकारले सामाजिक दूरी कायम गर्नुपर्ने भन्दै गत ११ जेठदेखि प्रदेशको बर्खे अधिवेशन पोखरा सभागृहमा सारेको हो ।
यसअघि पोखरा –३, नदीपुरस्थित प्रदेश सभामा बैठक हुँदैआएको थियो । गण्डकीमा ४ दलका ६० सांसदको प्रतिनिधित्व छ ।