२३ असार २०८३, मंगलबार

साइन्स पढ्नेले चुरोट तान्नैपर्ने हो र ? (ब्लग)

कात्तिक २०, २०७४
साइन्स पढ्नेले चुरोट तान्नैपर्ने हो र ?  (ब्लग)
प्लस टू को परिक्षा दिइरहेको छोराको मनोवल बढाउन हिजो मात्र काठमाडौ आएकी म बिहान उठेर तरकारी किन्न पुतलीसडक चोकमा निस्केकी थिएँ । उसकै उमेरका देखिने २ युवा बाटोमा खुलेआम चुरोट तान्न व्यस्त थिए । यस्ता दृष्य हेर्न मलाई निकै गाह्रो लाग्छ । सकेसम्म देख्न नपरे हुन्थेयो भन्ने ठान्छु । तर काठमाडौका चोक गल्लीहरुमा छरपस्ट देखिने यी दृष्यहरुबाट म कति टाढा भाग्न सक्थे र ? जता हेरे पनि जति लुक्न खोजे पनि देखिरहन्छन, मलाई पछ्याइरहन्छन ।

टिनएजरमा शारीरिरक तथा मानसिक परिवर्तन आउने नया कुराहरु सिक्न र प्रयोगमा ल्याउन मन लाग्ने हुन्छ भन्ने मैले पढेर र परेर दुवै तरिकाले अनुभव गरेकी छु । लोकतन्त्रको स्थापना सगै हुर्किएका अहिलेका प्लस टु युवाहरु अझ बढी स्वतन्त्र छन हाम्रो पालामा भन्दा । उनीहरुको स्वतन्त्रताको पक्षपाती म पनि हुँ । स्वतन्त्रताले उनीहरुको क्षमता प्रस्फुटनमा सहयोग पुराउछ । उनीहरुले प्रयोग गरेका पनि छन । डिजिटल प्रविधिसग खेलेर संसारलाई आफनो हत्केलामा कैद गर्न सफल भएका छन ।

यी पुस्ताका आमा हुनुको नाताले मलाई सधै गर्व छ उनीहरुको प्रगती प्रति । तर मेरो गुनासो उनीहले आफनो स्वास्थको ख्याल नगरेर चुरोटको धुवाँ सगै फोक्सो बिगारी राखेकोमा मात्र हो । गर्भमा छँदा बच्चालाई धुवाले असर गर्छ भनेर आगोसँग डराइ डराइ काम गर्ने आमाहरुका छोराछोरीहरु आज जानी जानी धुवाको लतमा आफुलाई किन ढाल्दैछन ? मैले नबुझेको प्रश्न मात्र हो ।

विपरित लिङ्गी प्रति आर्कषित हुन, नयाँ प्रयोग गर्न खोज्नु, एकान्त मन पराउनु, साथीहरुसगँ घुम्न मन पराउनु जस्ता विशेषताहरु प्राय टिनएजरहरुमा देखिन्छन । शरीरमा आउदै गरेको परिवर्तनले मानसिक रुपमा उनीहरुलाई प्रभाव पारिरहेको हुन्छ । तर बाटोमा यत्रतत्र देखिने चुरोट प्रेम देखेर म भने वाक्क भएकी छु ।

राजधानीको प्रतिष्ठीत भनीएका कलेजहरुमा साइन्स पढने भोली डक्टर बन्ने सपना बोकेर बाइलोजी बुक घोक्दै रात काट्ने, हामी जस्तै लाखौ नेपालीहरुको स्वास्थ्य समस्याको जानकार बन्ने इच्छा बोक्ने भोलीका डक्टरहरु र आजका मेरा प्रिय छोराछोरीहरु कीन आफ्नै स्वास्थ्य विर्गान कुलतमा लाग्दै होलान् ।

बुझाउनु पर्ने विषय त केही पनि देख्दीन । ज्ञान र व्यवहार फरक पाटो रहेछन भन्ने कुराको स्पष्ट उदाहरण मात्र हुन । परिक्षा हलमा पुग्नु अघि हातमा भएको चुरोट फालेर हलमा पस्ने सबै युवाहरुलाई चुरोट खाँदा टीवी, क्यान्सर हुन्छ भन्ने कुरा हामी आमाहरुलाई भन्दा धेरै थाहा छ । गुगल सर्च गरेर एक एक विषय अध्ययन गरीसकेका छन् ।

कतिले त स्कुलमा पनि त्यस्ता प्रतियोगीतामै पुरस्कार जितेका पनि होलान । कुनै संस्थाले धुम्रपानका बेफाइदा विषयमा निबन्ध लेख्न दिए एक हातमा चुरोट समातेर अर्को हातले विश्व स्वास्थ्य संगठनको परिभाषा कोर्ट गर्दै कति राम्रो निबन्ध लेख्दा हुन । समाजलाई कति राम्रो अर्ति उपदेश दिदा हुन । तर तीनै कलीला ओठ निचरेर दुध आउने जस्ता केटाकेटीको हातमा चुरोट सल्केको देख्दा मेरो मन भने जलेको छ ।

जिल्ला सदरमुकाम तिर अक्कल भुक्कल देख्न पाइने यस्ता दृष्यहरु काठमाडौका गल्लीहरुमा भने छ्यापछ्यापती भेटीदा रहेछन । उता भए त कति जनालाई म गाली गरी सक्थें । केही चिनेका होटल वालाहरुलाई केटाकेटीलाई चुरोट नदिनु है भनेर भन्थे पनि । कलेज ड्रेसमा चुरोट समातेका केटाकेटी देखे त म आखै चिम्लीन्थे । हेर्ने हिम्मत पनि छैन मँसग ।

कति होटलवालाहरुले मेरो मन राख्न भए पनि मेरा सामुन्ने छैन भनेर पनि पठाउथेँ । तर देशको राजधानीमा न त्यसो गर्ने मेरो हैसियत छ, न संभव पनि । काठमाडौ बसाइ भरी मन भित्र डर र त्रास मात्र हुने भो, कतै चुरोटबाट बसेको लत गाजा चरेस सम्म पुग्ने र सक्षम युवाहरुको पुरै जिन्दगी ध्वस्त हुनछ की भन्ने ?

कक्षा १२ को परिक्षा दिदै गरेको छोराको आमा भएको नाताले पनि यी प्लस टु युवाहरुसगँ मेरो नाता नजिकको छ । हरेक केटाकेटीको अनुहारमा उसलाई देख्छु । उनीहरुका सफलतामा खुसी हुन्छु । दुखमा दुखी हुन्छु । सबै आमाहरुका सपना मेरा जस्तै त छन । छोराछोरीलाई असल मान्छे बनाउने आफनो लागि मात्र नभएर समाज र राष्टको लागिका काम लाग्ने योग्य नागरिक बनाउने ।

देशभरिका सबै आमाहरुको सपना एकै चोटी सम्झेर पुतलीसडकको व्यस्त सडकमा चुरोटको धुवा फ्याक्दै गरेका युवाहरु देख्दा म आत्तिन्छु । अनायस उनीहरुका हातको चुरोट समात्न खोज्छु । मेरा पनि सबै सपना धुवासगै हराएको अनुभुत गर्दछु । खै के कारणले हो यो जेनेरेसनमा आएको अस्वभावीक परिवर्तनले धेरै आमा बाबुकै मन कुडाएको छ । सपना चुडाएको छ ।

मनको जिज्ञासा कम गर्न बाटो हिडदा चुरोट हातमा समाएका केही युवासगँ कुरा गरे । केहीले शुरुमा कस्तो होला भनेर परिक्षणको रुपमा खाएको पछी लत बस्नेगरेको बताए भने धेरैले पढाइको प्रेसर बढी भएर तनाव कम गर्न शुरु गरेको बिस्तारै लत बनेको बताए केहीले सीनीयरको बानी सिको गरेको बताए । तर सबैलाई थाहा छ चुरोट पिउनु स्वास्थको लागि हानिकरक छ भन्ने ।

पढाइको तनाब कम गर्न चुरोट पीउनु पर्ने कुरा सुन्दा मैले साथी जानकीकी छोरी अनुसालाई सम्झे । कक्षा १० र ११ को बीचमा अन्तर अली बढी भएकोले शुरुमा अत्तालीएको अनुभव उनले सुनाएकी थिईन । विशेष गरी साइन्समा त्यस्तो छ की ? सायद अन्तराष्ट्रिय स्तरको कोर्ष बनाउनको लागि होकी विद्यार्थीहरुको टाउकोमा एकैचोटी ठुलो भारी बोकाएको । साइन्स पढनु वा आर्ट त्यो उनीहरुको रुची हो । तर उमेर सुहाउदो कोर्ष डिजाइन गर्नु विशेषज्ञहरुको दायित्व । ज्ञानको पहाड बोकाएर मानसिक तनावले थिचिएका फ्रस्टेट युवाहरुको लामो श्रृखला किन तयार गर्नुपरेयो र गरीब देशले ।

डाक्टरहरुको त त्यती संगतमा म छैन । कामको सन्र्दभमा केही इन्जीनीयरहर सगँ मैले सहकार्य गरेको छु । प्राय सबै जसो चुरोट र रक्स्ीका पारखी छन । वर्कलोड हो वा शोख त्यो मलाई थाहा छैन । अली कम उमेरका इन्जीनीयरहरुको हातमा चुरोट देख्दा उनीहरुको शोख कालान्तरमा नराम्रो आदत बन्ने होकी भनेर डराउछु । कतीले त मेरो गाली पनि खाएका छन । कलेज पढदै सिकेका रे ।

तनाव कम गर्ने औषधी चुरोट हो की होइन त्यो त मलाई थाहा छैन । जति तनाव भएपनि चुरोट तानेकी छैन । सानैदेखि चुरोट सुर्तिको सेवनले स्वास्थय बिग्रन्छ, फोक्सोमा असर पर्छ भन्ने सुन्दै र पढदै आएकी भएर होला आफनो मुटु भन्दा प्रिय छोराछोरीको हातमा चुरोट देख्दा मन कुडिन्छ । भित्रभित्रै पोल्छ । आमाको मन न हो । सन्तानको खुशीको लागि सधै तडपिने । उनको प्रगतिको लागि हरेक मुल्य चुकाउन तयार हुने । अहिलेका प्लस टु पुस्तासगको मेरो प्रेम पनि त्यही हो ।

देशका प्रतिष्ठीत भनिएका कलेजमा बाइलोजी पढदै गरेका र धुम्रपान स्वास्थको लागि हानीकारक छ भनेर कपिमा नोट बनाउदै गरेका विद्यार्थीको हातमा बाक्लै चुरोट देख्दा मैले हाम्रो देशको शिक्षा प्रणालीलाई कसरी बुझु । अन्योलमा छु ।

भोलीका मेरा डक्टरहरु आज आफनै स्वास्थय माथि खेलवाड गर्दैछन । कुन मुख लिएर ५ वर्ष पछि मैले खोक्दै गर्दा हस्पिटल पुगेर आमा चुरोट पिउनुहुन्छ ? भनेर सोध्लान र खोकी लाग्ने मान्छेले चुरोट नपिउनु है भनेर सल्लाह देलान । चुरोट एक पल्ट पनि नसल्काएकी मलाई खोकी लाग्नु धरभित्रको धुवा र कच्ची बाटोको धुलोको असर हो भनेर म भनीदेउला तर उनीहरुको फोक्सोमा चुरोटको धुवाको असर कस्ले बताइदिने होला ।

साधारण चुलोमा खाना पकाउदा धुवाले महिलाहरुको फोक्सोमा असर पर्छ भन्दै गाउघर तिर आधुनिक धुवारहित चुलोको प्रचार गर्दै हिडने म राजधानीका प्रत्येक गल्लीहरुमा युवाहरुका हातबाट निस्कने चुरोटको धुवाले निस्सास्सिएकी छु । लाग्छ एकैपटक सबैको हातबाट चुरोट थुतेर फालीदियौ र गालामा २ झापड हानीदियौ ।
फेरी दया लाग्छ उनीहरुको ज्ञान देखेर । चिच्चाएर भन्न मन लाग्छ यती वर्ष स्कुल कलेज पढेर के सिक्यौ तिमिहरुले ?

ज्ञान कपिमा उत्तर लेखेर विशिष्ट श्रेणी प्राप्त गर्नका लागि मात्र हो ? तिम्रो जीवन र समाजलाई सही बाटोमा डोराउनका लागि होइन । तिमीलाई आर्दश मानेर पछी पछि हिडने भाइ बहिनीको लागि बाटो देखाउनको लागि होइन ।

तर मेरो भावना र एकल प्रयासले मात्र के संभव होला र ? यी पुस्तालाई सही बाटो देखाउनु हामी सबैको दायित्व होइन र ? परिवार, समाज, विद्यालय र राष्टका साझा सम्पत्ति वर्तमानका आधार र भविश्वका कर्णधार आजका प्लस टु पुस्तालाई अम्मली बनाउनबाट रोक्न उचित वातावरणको थालनी गर्नु र उनीहरुको भावना बुझी सही बाटोमा डोराउनु हामी सबैको कर्तव्य हो ।

salt training

कमेन्ट गर्नुहोस्