
मुक्तक - १
पिरती कस्तो हुनुपर्छ जुरेली र बटाई हेर
समर्पण कस्तो हुनुपर्छ राडी र चटाई हेर
अविश्वासका रोटी बेल्ने ओ सज्जनहरू
भरोसा कस्तो हुनुपर्छ चङ्गा र लटाई हेर !
मुक्तक - २
आँसु झार्ने आँखा एउटा टुट्ने अर्को मन
घाऊ लाग्ने छाती एउटा दुख्ने अर्को मन
उनको मेरो साइनो पनि घाम-छायाँजस्तै
पीडा बोक्ने मुटु एउटा फुट्ने अर्को मन !
मुक्तक - ३
अलिनो भो खा'को गाँस नुन कसले चोर्यो
बेइमानी भो जोवन मेरो धुन कसले चोर्यो
उडिरहेछन् डालीबाट एक-एक गरी खुसी
सुनसान भो मनको बाग जून कसले चोर्यो ?
मुक्तक - ४
रूखमा हेर्यो ठुटे भेट्ना खजुर कसले चोर्यो
कम्मर भाँची नाचुँ भन्छु मजुर कसले चोर्यो
प्रिती फुल्ने उमेर मेरो ओइलाइ झर्ने हो कि
रित्तै भयो मनको मन्दिर गजुर कसले चोर्यो ?
मुक्तक - ५
ओजन छैन सम्बन्धमा पल्ला कसले मार्यो
बदनाम भा'छ गाउँभरि हल्ला कसले मार्यो
मतलवी छ यो दुनियाँ त प्रेमीहरूको लागि
पिरती नै नहुर्किँदै फेरि चल्ला कसले मार्यो ?
मुक्तक - ६
शहर हिँड्यौ छोडी मुना धनले डोर्यायो कि
भन्तु भयौ जीवन त्यागी वनले डोर्यायो कि
कहाँ कहाँ पुग्छ प्यारा यो जिन्दगीको बाटो
कुटीमै पस्यौ आज फेरि मनले डोर्यायो कि !
मुक्तक - ७
पिउँ पिउँ लाग्ने तिमी जरुवाकी मूल रहिछ्यौ
गरूँ गरूँ लाग्ने तिमी जीवनकी भुल रहिछ्यौ
पिरतीको धागो बाटी समर्पणको माला गाँस्न
टिपुँ टिपुँ लाग्ने तिमी सुनाखरी फूल रहिछ्यौ !
मुक्तक - ८
नकावधारी छेउमै आयो जुक्ति कसको थियो
कोइलीजस्तै मिठो गायो सुक्ति कसको थियो
किन फुल्यो वसन्त पनि वैँस बोलाई मनैभरि
फूल टिपेर भवँरा उड्यो मुक्ति कसको थियो ?
मुक्तक - ९
माया प्रेम खेलौना भो चक्कर दिने धेरै हुन्छन्
भलो चिताई काम गर टक्कर दिने धेरै हुन्छन्
गोटी चाल्ने अनेकौं खेल सफेद त्यो पर्दापछि
भित्रभित्रै छुरा चलाई ठक्कर दिने धेरै हुन्छन् !
मुक्तक - १०
तिम्रो माया कति नापुँ भन्छु, नाप्ने कुनै कसी छैन
तिम्रा हरेक याद बाँधुँ भन्छु, बाँध्ने कुनै रसी छैन
सम्झनामा बिझाइरहन्छन् बिछोडिएका दिनहरू
तिम्रो गीत एक लेखुँ भन्छु, लेख्ने कुनै मसी छैन !