
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ आइतबार पोखरास्थित कोरोना प्रयोगशालाको अनुगमनमा निस्केका छन् ।
एकपछि अर्को स्वाब थुप्रिदै जाँदा परीक्षण दर सुस्त रहेको विभिन्न जिल्लाबाट गुनासो आएपछि मुख्यमन्त्री स्वयं अनुगमनमा निस्केका हुन् ।
उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा संचालित प्रदेशको कोरोना प्रयोगशालाका कर्मचारीलाई भेटी पछिल्लो जानकारी लिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिए ।
उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापा प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्मा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य, प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदी लगायत कर्मचारीसँग भेट गरी परीक्षण प्रगतिबारे जानकारी लिएका थिए ।
अनुगमनमा मुख्यमन्त्रीसहित सामाजिक विकास मन्त्री नरदेवी पुन, सचिव डिल्लीराम शर्मा सुवेदीको पनि उपस्थिति रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सोक्रममा मुख्यमन्त्री गुरुङले काठमाडौंबाट थप जनशक्ति आएपछि परीक्षण दर बढाउन सकिने आश्वासन दिए ।
थपियो पीसीआर मेसिन
गण्डकी प्रदेशमा आइतबारदेखि नयाँ पीसीआर मेसिन संचालन गरी टेष्टिङ सुरु भएको छ । योसँगै प्रदेशमा ३ वटा मेसिन संचालनमा आएका छन् । प्रदेशकै एकमात्र पीसीआर मेसिन परीक्षण ल्याब प्रदेश मातहतमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा संचालित छ ।
काठमाडांैदेखि २ लाख रुपैयाँ हेलिकोप्टर भाडा तिरेर नयाँ मेसिन ल्याएपछि पोखराबाटै १८ चैतदेखि कोरोना परीक्षण सुरु भएको हो ।
त्यसको चार दिनपछि अस्पतालमै पहिले रहेको पुरानो पीसीआर मेसिन संचालनमा आयो । पहिले गुपचुप राखिएको सो मेसिनमा किट झिाएर नमुना परीक्षण थाल्दा नयाँभन्दा पुरानो नै क्षमतायुक्त देखियो ।
यसरी प्रदेशमा हालसम्म २ मेसिनबाट पीसीआर चेक गरिँदैआएको थियो । बीचमा केही समयसम्म रिजेन्ट नहुँदा एउटामात्र बाटै काम चलाइएको थियो ।
प्रदेश सरकारले गण्डकीमा २८ हजार जनाको पीसीआर चेक गर्ने लक्ष्यसाथ नयाँ मेसिन खरिद गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकैको प्रदेश क्षयरोग केन्द्रमा आइतबारदेखि नमुना जाँच सुरु गरेको स्वास्थ्य निर्देशनालयका फोकल पर्सन नवराज शर्माले जानकारी दिए ।
त्यस्तै, प्रदेश सरकारले नयाँ पीसीआर मेसिन संचालनमा ल्याए पनि आवश्यक जनशक्ति अभावमा २ सिफ्टमा काम हुन सकेको छैन । प्रयोगशालाकी नि.प्रमुख सुवेदीले भनिन्, ‘२ मेसिन चलाउन एक सिफ्टमा कम्तीमा १८ जना कर्मचारी आवश्यक पर्दछ । तर जनशक्ति अभाव छ ।’
यता, सामाजिक विकास मन्त्रालयले विभिन्न जिल्लाबाट कर्मचारी ल्याएर तालिम दिन थालेको मन्त्री नरदेवी पुनले बताइन् । तालिम सकिन अझै एक साता लाग्ने जनाइएको छ । जनशक्ति पूर्तिसँगै सबै मेसिन चल्दा मेसिनले दैनिक ५ सय वटासम्म नमूना परीक्षण गर्न सक्नेछ ।
हाल २ सय हाराहारीमा परीक्षण हुँदैआएको छ । प्रदेश सरकार अझै अर्को (चौथो मेसिन) पनि खरिद गर्ने तयारीमा छ । आवश्यक प्रक्रिया अघि बढिसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विशेषगरी भारतमा रोजगारी गरी स्वदेश फर्केकाहरु क्वारेन्टाइन बस्दै आएका छन् ।
उनीहरु १० दिनसम्म क्वारेन्टाइन बसे पनि समयमै पीसीआर परीक्षण नतिजा आउन नसक्दा अन्यौलमा छन् । न त घर फर्किन पाएका छन् न त समयमै रिपोर्ट आउँछ । गण्डकीमा अझै २ हजार ३ सय ८२ नमुनाको रिपार्ट आउन बाँकी छ ।
हालसम्म ८ हजार ४ सय ४३ नमुना संकलन भएकोमा १ सय ९९ संक्रमित छन् । १ संक्रमितको मृत्यु भएको छ भने १६ निको भएका छन् ।