
रूपन्देहीको सैनामैना नगरपालिकाले स्वास्थ्य सुविधा सुधार, कृषि उत्पादकत्व वृद्धि र शिक्षा, रोजगारी तथा खेलकुदलाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।
शुक्रबार भएको सातौं नगर सभामा प्रमुख चित्रबहादुर कार्कीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आवधिक, मध्यकालीन र दीर्घकालीन योजनाहरु तय भएको र तिनैलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै अगाडि बढिने उल्लेख गरे।
नगरका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र सुविधा सहितको महिला, बालबालिका र अपाङ्ग लक्षित सामुदायिक अस्पतालको निर्माण, रामापुर स्वास्थ्य चौकीमा आँखा अस्पताल निर्माण र वडा नं. ११ वनकट्टीमा २४ घण्टे प्रसुती सेवाको विस्तार तथा ट्रमा सेवासहितको विश्राम स्थल निर्माणको लक्ष्य सहितका योजना सार्वजनिक गरिएको छ ।
सालझण्डीमा प्रदेश सरकारको सहकार्यमा ट्रमाको प्राथमिक उपचारसहितको विश्राम स्थल निर्माणको तयारी भइरहेको छ । यसैगरी स्वास्थ्य चौकी नभएका ९ वटा वडाहरुमा आधारभुत स्वास्थ्य चौकी भवन निर्माण, आगामी कार्तिक मसान्तसम्म सवै नगरवासीको स्वास्थ्य वीमालगायतका योजना नीति कार्यक्रममा प्रस्तुत गरिएको छ ।
व्यवसायिक र आधुनिकीरणसहितको कृषि तथा उत्दानमुखी सहकारीको जोड दिएको छ । कृषितर्फ वडा नम्बर ३ र ८ मा १ हजार मेट्रिक टन क्षमताका २ वटा शित भण्डार निर्माण गर्न संघ र प्रदेश सरकारसँग गरिने भएको छ । ‘भूमी बैँकमार्फत प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि, सैनामैनाको आर्थिक समृद्धि’ भन्ने अभियान अन्तरगत भूमि बैंकको स्थापना गरि सामुहिक खेति, करार खेति र व्यवसायिक खेति गर्ने व्यवस्था मिलाइने भएको छ ।
करार खेति गर्नको लागि जग्गा लिजमा लिदा जग्गा वहाल कर मिनाहा गरिने प्रमुख कार्कीले बताए । यसैगरी नगरमा जग्गा बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्न जग्गाधनिले जग्गा बाझो राखेमा भूमि बैँकले लिजमा दिन सक्ने नीति बनाइने भएको छ । बैदेशिक रोजगारबाट घर फर्किएका युवा र कृषि तथा पशु उद्यमीलाई सहुलियतपूर्ण कर्जाको व्यवस्था, कृषियोग्य जमिनको चक्लावन्दि गरी गैरकानूनी खण्डिकरणलाई नियन्त्रण गर्ने, बालिवस्तुको वीमा कार्यक्रमलाई सहज र सस्तो रुपमा किसानको पहुँचमा पुर्याइने, कृषि योजना पकेट क्षेत्र निर्धारण, हरेक वडामा कृषक एकिकृत शत्रुजित व्यवस्थापन (आईपिएम) पाठशाला सञ्चालन तथा बेमौसमी तरकारी खेति उत्पादनको लागि हाइटेक प्लाष्टिक टनेल निर्माण लगायतका बुँदाहरुलाई नीति कार्यक्रममा समेटिएको छ ।
नीति तथा कार्यक्रममा शिक्षाको क्षेत्रमा ‘प्रविधिमा आधारित अपनत्व सहितको गुणस्तरीय शिक्षा, सैनामैनाको प्रतिबद्धता’ नारा अनुसार विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय तथा सुचना प्रविधिको व्यवस्था गरिनुका साथै स्थानीय पाठ्यक्रम निर्माण गरी क्रमश लागु गरिने नगर प्रमुख कार्कीले उल्लेख गर्नुभयो । प्रविधिमा आधारित शिक्षा र सैनामैना चिनाउने स्थानीय पाठ्यक्रम नगरको नीति तथा कार्यक्रममा छ ।