०८ साउन २०८३, शुक्रबार

पहिरोमा पुरिएका ६ जनाको शव फेला, एक बेपत्ता

असार २०, २०७७
पहिरोमा पुरिएका ६ जनाको शव फेला, एक बेपत्ता

बझाङमा शुक्रबार राति पहिरो जाँदा केदारस्यूँ गाउँपालिका–८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन्। शनिबार बिहान स्थानीयवासी र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका छ जनाको शव निकालेको छ।

आफ्नै घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया रामती जेठारा र उहाँकी १५ वर्षीया छोरी शान्ति जेठारा, ११ वर्षीय छोरा प्रयागराज जेठारा र सात वर्षीेया छोरी अस्मिता जेठाराको शव निकालेको घटनास्थलबाट प्रहरी सहायक निरीक्षक रायभानसिंह ऐरीले बताए। उनका अनुसार ८० वर्षीय दले जेठारा, १२ वर्षीय सन्तु जेठाराको शव पनि लिकालेको छ भने पहिरोमा पुरिएका २० वर्षीया गिरिजा जेठाराको खोजी भइरहेको छ। 

'राति अविरल वर्षासहित गाउँ माथिबाट अलिअलि पहिरो आउँदा जानकारी भएपछि हल्लाखल्ला गरेर राति सबै घरबाट बाहिर निस्कियौँ”, घटनाका स्थानीयवासी सुरेश जेठाराले भने, “उहाँहरु भाग्न नसकेर पहिरोमा पुरिएका हुन् । गाउँको माथिपट्टि रहेको रातोपड सामुदायिक वनबाट पहिरो आएपछि १८ घर पूर्णरुपमा क्षति भएका छन् ।' उनका अनुसार पहिरोमा परी २२ भैँसी, ६५ बाख्रा र २४ गाई–गोरुसमेत बगाएको छ ।  

पहिरोले गाउँको बीच भाग हुँदै १८ घर बगाएपछि मल्लेसी गाउँ शोकमा डुबेको छ । यसरी एक्कासि पहिरोले गाउँ बगाएपछि मल्लेस गाउँका १८ परिवारको उठिबास भएको छ । स्थानीयवासी नरेश बोहराले भने, “शरीरमा लगाएका लुगा कपडाबाहेक सबै पहिरोले लग्यो । घरभित्रको खाद्यान्न, लत्ताकपडा, धन सम्पत्ति र गाई–गोरुसमेत सबै बगे । झण्डै २० रोपनी जग्गामा लगाएको धानबालीसमेत पुरेको छ।”  

जुइली गाड र सुङरी गाडको बीचमा रहेको उक्त गाउँ जानलाई आवतजावत गर्नसमेत समस्या छ। दुवै गाडमा अत्यधिक मात्रामा पानी भएपछि अरू गाउँसमेत जान समस्या छ। यो गाउँमा ९० परिवारको बसोबास छ। यस घटनामा क्षति भएका पीडित परिवारहरुलाई राहत दिनका लागी गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रतिनिधिसभा सदस्य आशा विकले बताए। प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री लिने कुरा भएको छ । अहिले शवमात्र निकाल्ने काम भइरहेकाले क्षतिको विवरण लिन बाँकी रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्