
कास्कीमा एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन् । तीमध्ये १ जना महिला हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको पीसीआर परीक्षणमा पोखरा महानगरपालिकाका १० जना पुरुष, मादी गाउँपालिकाका २ जना पुरुष र १ जना महिलामा कोरोना संक्रमण देखिएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधवार दिउँसो विज्ञप्ति जारी गरी सोको पुष्टि गरेको हो ।

संक्रमितमध्ये पोखराका वर्ष २५ का ३ जना पुरुष तथा वर्ष २६, ३१, ३२, ३५, ४३, ४५ र ५१ का १–१ जना पुरुष हुन् ।
त्यसैगरी, कास्कीकै मादी गाउँपालिकाका २८ वर्षीया एक महिला र वर्ष ३५ र ३७ का २ जना पुरुष पनि कोभिड–१९ संंक्रमित बनेका हुन् ।
योसहित गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या कुल १ हजार १ सय २९ पुगेको छ । तीमध्ये ३ सय ५३ जना निको भई घर फर्केका छन् ।
बुधवार बिहान पनि बाग्लुङ, तनहुँ र म्याग्दीका गरी ३ जनामा कोरोना पुष्टि भएको थियो ।
बागलुङको गल्कोटकी २४ वर्षीया महिला, तनहुँ म्याग्देका २९ वर्षीय पुरुष र म्याग्दीको बेनी नगरपालिकाका ३३ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनीहरू सबैको नमूना परीक्षण क्षयरोग उपचार केन्द्र, पोखरामा भएको हो ।
बुधवार मात्रै गण्डकीमा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।