
अविरल वर्षापछि आएको पहिरोमा परी पोखराको सराङकोट र हेम्जामा ४ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते छन् ।
पोखरा महानगरपालिका वडा १८, सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा पर्दा ३ जनाको मृत्यु भएको हो । सो घटनामा ६ जना घाइते भएका हुन् । घाइतेमध्ये ४ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारार्थ लगिएको छ भने बाँकी २ जना सामान्य घाइतेलाई उद्धार गरी अस्पताल लगिँदै छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार पहिरोमा परी ज्यान गुमाएकाहरुको पहिचान खुल्न बाँकी छ ।
घरमाथिको सडक भत्किँदै आएको पहिरोले टंकबहादुरको घर बगाएको हो । पहिरोपछि स्थानीय र प्रहरीको सक्रियतामा घाइतेहरूलाई अस्पताल पु¥याएको छ ।
गएराति उनको घरमा बर्थ डे मनाउन छिमेकी तथा इष्टमित्र समेत आएकोले थप मानिस पनि पहिरोमा परेका हुन सक्ने प्रहरीको अनुमान छ । अन्य हराइरहेको आशंकामा प्रहरीले खोजीकार्य जारी राखेको छ ।
त्यसैगरी, पोखरा महानगरपालिका वडा २५, हेम्जामा पनि पहिरोमा परी एक वृद्धाले ज्यान गुमाएकी छन् । गएराति साढे २ बजेतिर घर पछाडिबाट पहिरो आउँदा ७० वर्षीया हिमकला अधिकारीको मृत्यु भएको प्रहरीले जनायो ।