
कैलाली जिल्लाको भजनी नगरपालिका–३ कुसुमघाटस्थित दुर्गा माध्यमिक विद्यालयसहित आसपासको पूरै वस्ती कन्द्रा नदीको कटानको उच्च जोखिममा परेको छ ।
कटान नियन्त्रणको लागि असारको अन्तिममा हतारहतारमा बनाइएको तटबन्ध भाँसिएपछि नदीको भँगालो विद्यालयसहित वस्तीतिर सोझिएपछि उच्च जोखिममा परेको हो । अब सो कन्द्रा नदी र विद्यालयको दुरी जम्मा ५ देखि ८ मिटर रहेको स्थानीय आरती चौधरीले बताइन् । कटान रोकथाम तत्काल नभए विद्यालयको भौतिक संरचना नदीले बगाउने स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
नदीको सो जोखिम क्षेत्रमा जलस्रोत तथा सिचाँइ डिभिजन कार्यालय धनगढीले असारमै तटबन्ध निर्माण गरेको थियो । तर सम्पन्न भएको एक हप्तामै तटबन्धमै भासिएपछि विद्यालयसहित बस्ती नै जोखिममा परेको उनले बताइन् ।
स्थानीयका अनुसार कुसुमघाटको १ सय २२ घरधुरी उच्च जोखिममा र नजिकै रहेको कन्हैयापुरको १ सय ७३ घरधुरी पनि कटानले प्रभावित भएको छ । भने, कटान क्षेत्रबाट मात्र १० मिटरको दुरीमा रहेको सशस्त्र बेस क्याम्प कुसुमघाट पनि जोखिममा परेको छ ।
असार २८ गते निर्माण सम्पन्न गरेको तटबन्ध साउन ३ गते भासिएको हो । असार ५ गते जलस्रोत तथा सिचाँइ कार्यालय धनगढीसँग २८ लाख बजेटमा तटबन्ध गर्ने सम्झौता भएको निर्माण उपभोक्ता समिति अध्यक्ष हिरासिह बोहराले बताए ।
आर्थिक वर्षको अन्तिम समयमा सम्झौता भएकोले लक्ष्य अनुसार काम गर्न नसकेको बोहरा बताउँछन् । ढिलो सम्झौता हुँदा १६ लाख रकम बराबरको मात्र काम भएको अध्यक्ष बोहराको भनाइ छ । बर्षातमा काम शुरु हुँदा पानी बढेर ३० मिटर काम नभएपछि कन्द्रा नदीले कटान तीब्र पारेको स्थानीयले बताएका छन् ।

हाल स्थानीयबासी र सशस्त्र प्रहरीको प्रयासमा नदी कटान नियन्त्रणको प्रयास भैरहेको छ । भजनी नगरपालिकाले कट्टा/बोरा उपलव्ध गराएपछि माटो भरेरे बैकल्पिक नदी कटान रोकथामको प्रयास भैरहेको छ ।
भजनी नगरपालिका वडा ३ का वडा अध्यक्ष विक्रम चौधरीले लकडाउनको कारण देखाउँदै ठेकेदारले समयमा काम नगरे बताए ।
असारमा आएर काम गरेपछि तटबन्ध दिगो नभएको वडा अध्यक्ष चौधरीको भनाइ छ । पक्की तटबन्धले काम नगरेपछि कटान रोकथामको लागि स्थानीय र सशस्त्र प्रहरीको संयुक्त प्रयासले बाँस, स्याउलाको प्रयोगले जैविक तटबन्ध निर्माण गरिरहेको बताए ।
वडा अध्यक्ष चौधरीका अनुसार सो नदी कटान क्षेत्रमा तटबन्ध निर्माणको लागि जलस्रोत तथा सिचाँई डिभिजन कार्यालय संग २ करोड ७४ लाखको सम्झौता गरिएको छ । विद्यालय र वस्ती जोगाउन जैविक तटबन्ध निर्माण गरिरहेको बताउँदै उनले असोजदेखि पुनः निर्माणको कार्य शुरु गरिने जनाए ।