
तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा पहिराेमा पुरिएर निधन भएका दुई जनाको परिवारलाई राहत रकम प्रदान गरिएको छ।
साउन ५ गते पहिराेमा पुरिएर निधन भएका ८० वर्षीया तीलमाया धौराली र १५ वर्षीया शिताष्मा धौरालीका परिवारलाई संघ सरकारको तर्फबाट उपलब्ध गराइएको तीन लाख राहत रकम प्रदान गरिएको हो।
तनहुँ निर्वाचन क्षेत्र नं १ का संघीय सांसद कृष्णकुमार श्रेष्ठले उक्त रकम मृतकका घरमै पुगेर आफन्तलाई हस्तान्तरण गरे।
पहिराेेमा पुरिएर निधन भएका व्यक्तिका परिवारलाई यस अगाडि प्रतिमृतक एक लाखका दरले राहत रकम उपलब्ध गराइएको भए पनि सरकारले साउन ४ गते निर्णय गरेर पहिराेबाट मृत्यु हुनेलाई दुई लाख र एकै घरका अन्य व्यक्तिको पनि मृत्यु भएमा थप एक लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको थियो।
मानिसको जीवनको मूल्य पैसामा जोख्न नमिल्ने भए पनि राहत रकमले पीडामा मल्हम लगाउन सहयोग पुग्ने सांसद श्रेष्ठले बताए। यसैगरी सांसद श्रेष्ठले व्यक्तिगत रूपमा मृतकका परिवारलाई ५० हजार सहयोग गरे। राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले २० हजार र वैदेशिक रोजगार व्यवसायी मञ्चका पूर्वउपाध्यक्ष हरि पाण्डेले ४० हजार मृतकका परिवारलाई प्रदान गरे।
सांसद श्रेष्ठले व्यास नगरपालिका–९ माझफाँटमा पहिराेले पुरिएर निधन भएका एकै परिवारका तीन जनाका आफन्तलाई २५ हजार र गजौडेकी मृतक मैतकुमारी घर्तीको परिवारलाई पनि २५ हजार उपलब्ध गराए।
सांसदमा निर्वाचित भएपछि तलबभत्ता नलिने घोषणा गर्नुभएका श्रेष्ठले आफूले प्राप्त गर्ने तलबभत्ता विभिन्न सामाजिक संघसंस्थालाई हस्तान्तरण गर्दै आएका छन्।
असार २९ गते र साउन ५ गतेको पहिराेले तनहुँको व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका र भानु नगरपालिकामा १३ जनाले ज्यान गुमाएका छन् भने एक बेपत्ता छन्।