![सरकारले कांग्रेसलाई ठाउँ दिएको हो, तर सभापति 'डिरेल' हुनुभयो– चन्द्र भण्डारी [कुराकानी]](https://lktcdn2.prixacdn.net/media/Chandra_Bhandari_JzZ9lnKFOH.png)
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको विरोधका बावजुद नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विभाग गठन, नियुक्ति र मनोनयन गरेपछि नेपाली कांग्रेसभित्र फेरि विवाद बल्झिएको छ । महाधिवेशन सम्पन्न भएको दुई वर्षभित्र गर्नुपर्ने विभागको गठन चारवर्षे कार्यकाल पूरा भएर थपिएको समयमा गरेपछि कांग्रेसभित्र विवाद शुरू भएको हो ।
देउवाले एकतर्फी रूपमा विभाग गठन गरेपछि पौडेल समूहले गत साउन १२ गते पत्रकार सम्मेलन गरेर विरोध जनाएको थियो । आइतवार थप १० विभाग गठन गरेपछि कांग्रेसभित्रको विवाद सतहमा आएको छ ।
देउवाले आइतवार संगठन विभागमा गोपालमान श्रेष्ठ, शिक्षा विभागमा हरिप्रसाद नेपाल, यातायात व्यवसायी समन्वय विभागमा महेन्द्र यादव, मुस्लिम विभागमा फरमुल्लाह मन्सुर, तराई मधेस समन्वय विभागमा अजयकुमार चौरसिया, संघीय मामिला तथा प्रदेश समन्वय विभागमा रमेश रिजाल, वन वातावरण तथा विपद व्यवस्थापन विभागमा अम्बिका बस्नेत, वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा आनन्दप्रसाद ढुंगाना, स्थानीय तह समन्वय विभागमा अर्जुनप्रसाद जोशी र निर्माण व्यवसायी समन्वय विभागमा वीरबहादुर बलायरलाई प्रमुखमा चयन गरेका थिए ।
सभापतिले विभाग गठन गर्दा विरोध किन भनेर लोकान्तरले कांग्रेस केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीसँग प्रतिक्रिया लिएको थियो, प्रस्तुत छ कुराकानीको सार :
सरकारमाथि प्रश्न उठाउने नैतिकता गुम्यो
नेपाली कांग्रेसको विधानअनुसार २ महिनाभित्रमा विभागहरू गठन गर्ने प्रावधान छ । त्यो विधानको संरक्षक नै स्वयं सभापति शेरबहादुर देउवा हो । नेपाली कांग्रेसको संस्कृति नै, इतिहास नै आफ्नो विधि विधानलाई पालन गर्दै देशलाई विधिमा हिँडाउने प्रक्रियाको नेतृत्व गरेको हो ।
त्यो पार्टीले सामान्य स्वार्थ र महत्त्वाकांक्षा पूरा गर्नका लागि विधान मिच्नु भनेको, आफ्नो इतिहास, गौरव र आफूमाथि घात गर्नु हो । अझ अगाडि गएर भन्दा शेरबहादुर देउवा संसदीय दलको प्रतिपक्षको नेता पनि हो, यो परिस्थितिमा उहाँले सरकारलाई, संविधानलाई हिँडाउनुपर्ने आवश्यकता छ, यस कुरामा आफ्नै पार्टीभित्र चुकिसकेपछि सरकारमाथि प्रश्न उठाउन सक्छौं ?
यदि सरकारले राष्ट्रिय चुनावको घोषणा गर्यो र चुनावका लागि जथाभावी बजेट बाँड्न थाल्यो भने कुन ग्राउन्डमा उठेर सदनमा शेरबहादुर देउवाले कुरा राख्न सक्नुहुन्छ ? धेरै कुराको दायित्व हाम्रो पार्टी सभापतिले बोल्नुभएको छ । आफ्नो पार्टीलाई विधानअनुसार हिँडाउने र वर्तमान सरकारलाई संविधान अनुसार हिँडाउने दायित्व बोकेको कारणले गर्दा उहाँ आफैंले आफैंलाई धोका दिनुभएको छ भन्ने मलाई लागेको छ ।
राष्ट्रिय राजनीतिमा कांग्रेसको भूमिका खुम्चियो
नेपाली कांग्रेसलाई वर्तमान अवस्थामा, वर्तमान सरकारले यति धेरै अवसरहरू दिएको छ । देशका राष्ट्रिय मुद्दा उठाउने, सिमानाका कुरा उठाउने, महँगी, भष्ट्राचारका कुरा उठाउने । कोरोनाबाट मान्छेको मृत्यु भइरहेकोछ, उपचार छैन, आईसीयू भेन्टिलेटरको कुरा उठाउने, बाढीपीडित कुरा उठाउन छाडेर, राष्ट्रिय मुद्दाबाट बाहिर गएर आफ्नो पार्टीभित्र आन्तरिक द्वन्द्वमा लाग्नु देशका लागि कति ठूलो दुर्भाग्य हो ? व्यक्ति आउला जाला, तर राष्ट्रिय मुद्दाबाट विचलित हुनुहुन्नथ्यो । सभापति डिरेल हुनुभएको महसूस गरेको छु ।
जनताका आवाजहरू मुखरित गर्नुपर्छ यतिबेला, यो अवसर कांग्रेसले पाएको छ । कांग्रेस त अहिले जनताको आवाज हो नि ! जनताको मुख हो, जुन बन्द गरेर बस्नुहुँदैन । दुःखको बेलामा पनि जनताको कुरा उठाएनौं र यस्तो राम्रो भूमिमा खेती गर्न सकेनौं भने त्यसले कस्तो बाली दिन्छ ? राम्रो बाली फलाउने कुराबाट पनि सभापति चुकिरहनु भएको छ, जुन कांग्रेसका निम्ति प्रत्युत्पादक हुनसक्छ ।
शेरबहादुर देउवाजी निर्वाचित सभापति हो, सभापतिलाई कमजोर पार्नु हुँदैन, पार्टीले हातखुट्टा बाँधिदिनु हुँदैन । तर पार्टी सभापतिले आफ्ना हातखुट्टा आफैँ बाँध्नुभएको छ । यही कुरा महाधिवेशन सम्पन्न भएको २ महिनामा गरेको भए आज पार्टीलाई कति राम्रो हुन्थ्यो ? अहिले राष्ट्रिय मुद्दा उठाएर सिंगो देशको नेतृत्व गर्न कसले छेकेको छ ? जनताको जनजीविकाको कुरा उठाउन कसले छेकेको छ ? भ्रष्टाचारको कुरा उठाउन कसले छेकेको छ ? कम्युनिस्टले ल्याएको दुईतिहाइ अब कांग्रेसले ल्याउनुपर्छ भनेर सबैलाई आह्वान गर्न कसले छेकेको छ ? जो आफ्नो क्षमता नभएर चाकडीमा, प्रशंसामा बाँच्छन्, त्यस्ताले कुरा गर्ने हो ।
मोदीले कम्युनिस्ट शून्यमा झारे, हाम्रोमा दुईतिहाइ !
देउवाले गठन गरेको विभागमा को पात्र कस्तो परेका छन्, मैले कसैको अपमान गर्न चाहन्नँ, नेपाली कांग्रेसभित्र लडेका कार्यकर्ता छन् । सबैको पहिचानलाई सम्मान गर्न चाहन्छु, सबैको लगनशीलतालाई सम्मान गर्न चाहन्छु । तर आफ्नो स्वार्थमा विधि र विधानलाई पालना गरिएन भने, भोलि शक्तिशालीले पेल्ने हो भने, भोलि बन्दुकले पेल्न थाल्यो भने यी कदम जवाफ हुन्छ भन्ने ठाउँ पनि खाली राख्नुपर्छ ।
शेरबहादुर देउवाको कार्यकाल सफल रह्यो/रहेन भन्ने कुराको समीक्षा मैले गरेर मात्र हुँदैन, उहाँको कार्यकालमा विश्वमा कम्युनिस्टहरू चुनावबाट सत्तामा आएका छन् कि छैनन ? भारतमा नरेन्द्र मोदीको कार्यकालमा कम्युनिस्टहरू २ सिटमा खुम्चिए ९० करोड मतदाता भएको ठाउँमा । नेपालमा कम्युनिस्टहरू दुईतिहाइ नजिक पुगे, यसैको आधारमा को सफल अनि को असफल भनेर समीक्षा गर्नुपर्छ ।
उहाँलाई प्रशंसा गर्नेले पनि यसैको आधारमा गरे हुन्छ, उहाँलाई सैद्धान्तिक आलोचना गर्नेले पनि यसैमा गरे हुन्छ, तर हाम्रो सभापति उदार र शालीन हुनुहुन्छ ।