
पोखरा महानगरपालिकामा १ हप्ता निषेधाज्ञा गर्न सिफारिस गरिएको छ ।
महानगरको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले सोमवार राति १२ बजेदेखि भदौ ८ गतेसम्म १ हप्ताका लागि निषेधाज्ञा लगाउन जिल्ला कोभिड विपद् व्यवस्थापन समिति (सीसीएमसी) मा सिफारिस गरेको हो ।
समिति संयोजक एवं महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले पछिल्लो समय पोखरामा कोरोना संक्रमित दर बढ्दै गएको र तीजमा बढी चहलपहल हुने हुँदा संक्रमण फैलिन नदिन आइतवार बसेको सर्वदलीय बैठकको सुझाव अनुसार निषेधाज्ञाको सिफारिस गरिएको जानकारी दिइन् ।
उनले भनिन्, ‘५ दल सम्मिलित बैठकमा १ हप्तासम्म पोखरामा कडा खालको निषेधाज्ञा गर्नुपर्ने सुझाव अनुसार समितिको बैठकले भदौ ८ गतेसम्म निषेधाज्ञा गर्ने गरी सीसीएमसीको बैठकमा पेश गर्ने निर्णय भएको हो । सम्भवतः सोमवार राति १२ बजेदेखि निषेधाज्ञा हुन्छ । हेरौं सीसीएमसीबाट कस्तो निर्णय आउँछ ।’
आइतवार सर्वदलीय बैठकमा नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनमोर्चा र राप्रपाका प्रतिनिधि सम्मिलित थिए । सीसीएमसीको बैठक भने दिउँसो बस्ने तयारी रहेको छ ।
पोखरामा शनिवार १३ जनामा संक्रमण देखा परेकोमा आइतवार मात्रै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमवार थप १ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीमा कुल संक्रमित संख्या १ हजार ७३९ पुगेको छ ।