०९ साउन २०८३, शनिबार
कोरोनाको कहर

महामारीको चपेटामा वायुसेवा प्रदायक: आन्तरिकतर्फ मात्र १६ अर्ब गुम्यो, कयौंको रोजीरोटी खोसियो

महामारीको चपेटामा वायुसेवा प्रदायक: आन्तरिकतर्फ मात्र १६ अर्ब गुम्यो, कयौंको रोजीरोटी खोसियो

कोरोना महामारीका कारण सरकारले चैत ११ गतेदेखि मुलुकमा लकडाउन जारी गरेपछि नेपालको हवाइ उडान प्रभावित बन्यो । 

सुरक्षा मापदण्डसहित भदौ १ गतेदेखि उडान पुनः शुरू गर्ने तयारी गर्दैगर्दा अन्तिम समयमा आएर त्यो मिति कोरोनाकै कारण पछाडि धकेलियो । अब भदौ १५ गतेपछि मात्रै मुलुकभित्र उडान शुरू हुने भनिएको छ ।

कोरोनाभाइरसको महामारीसँगै उडान क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नुपरेको छ ।

यसबीचमा कुनै कम्पनीले आफ्नो कर्मचारीको तलब कटौती गरेका छन् भने केही कर्मचारीको त रोजीरोटी नै गुमेको अवस्था छ । 

‘बुद्ध एयरको मासिक ८ करोड खर्च’

हवाइ उडान नहुँदा पनि मासिक ८ करोड खर्च हुने गरेको बुद्ध एयरका मार्केटिङ विभाग प्रमुख रुपेश जोशीले लोकान्तरलाई बताए ।

उडान नहुँदा इन्धन खर्च भने बचेको छ । विभाग प्रमुख जोशी भन्छन्, ‘कुल खर्चको ४० प्रतिशत हाराहारीमा इन्धन खर्च लाग्छ, अन्य खर्च यथावत छ ।’

उडान नहुँदा कर्मचारी, बीमा लगायतमा खर्च हुने गरेको उनी बताउँछन् । 

उनका अनुसार, मासिक ८ करोड खर्च भने उडान नहुँदा पनि भइरहेको छ । 

‘कर्मचारीको तलब पनि कटौती गर्नुपरेको छ, शुरूको २ महिना तलब कटौती नगरेपनि अहिले कूल तलबको ५० प्रतिशत कटौती गरिएको छ,’ उनले भने ।

कर्मचारी कटौती

नेपाल वायुसेवा निगमले त लकडाउनको शुरूआती चरणमै करारमा रहेको कर्मचारी कटौती गरेको छ । असार मसान्तसम्मको तथ्यांकमा निगमलाई ४ अर्ब हाराहारीमा नोक्सानी भएको देखिएको निगमका प्रवक्ता अर्चना खड्काले लोकान्तरलाई जानकारी दिइन् । 

लकडाउनका कारण अन्य वायुसेवा प्रदायकहरू जस्तो निगम ठप्पै भने भएको छैन । विभिन्न मुलुकमा उसले उद्दार तथा चार्टर्ड उडान भरिरहेको छ । लकडाउनका बीच गरिएको उडानबाट करीब डेढ अर्ब बराबर आम्दानी गरेको प्रवक्ता खड्का बताउँछिन् । 

आर्थिक वर्ष २०७६/७७ को अन्तिम ४ महिनामा ६ अर्ब आम्दानी गर्ने लक्ष्य लिएकोमा सो लक्ष्य चुम्न लकडाउन बाधक बनेको उनको भनाइ छ । 

यस्तै, निगमले लकडाउनकै कारण करारमा रहेका १ सय ४५ जना कर्मचारी कटौती गरेको छ । ‘कर्मचारी कटौतीसँगै करारमा रहेका क्याप्टेनहरूको पनि तलब ४० देखि ५० प्रतिशतसम्म कटौती गर्नुपर्‍यो,’ उनले भनिन् । 

वायुसेवा सञ्चालक भन्छन् : ‘१६ अर्ब गुमायौं’

मुलुकमा लकडाउन शुरू भएसँगै कुनै पनि जहाज नउड्दा हेली क्षेत्रले मात्रै ९० प्रतिशत गुमाएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल बताउँछन् । ५ महिनाको अवधिमा करीब १ सयवटा मात्रै हेलिकप्टर उडान भएको उनले बताए । 

सबै किसिमका उडानहरू नहुँदा आन्तरिक उडानतर्फ मात्रै १६ अर्ब रुपैयाँ नोक्सानी वायुसेवा सञ्चालकहरूले व्यहोरिरहेको उनले बताए ।

उनले भने, ‘सबै कुरा ठप्प हुँदा उडान पनि बन्दकै अवस्थामा छ, यसबाट हामीलाई १६ अर्बको हाराहारीमा प्रत्यक्ष नोक्सानी भएको छ ।’

अप्रत्यक्ष घाटा करीब ४० अर्ब बराबरको रहेको उनले बताए ।

क्यान भन्छ : ‘मासिक ९० करोड राजस्व गुमायौं’

नेपाल नागरिक उड्डयन प्राधिकरणले लकडाउनका कारण मासिक ९० करोड राजस्व नउठेको बताएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले मासिक ९० करोड राजस्व उठाउन नसकिएको बताए । उनले भने, ‘अन्य समस्या त त्यस्तो देखा परेनन्, राजस्वकै कुरा गर्दा मासिक ९० करोड हामीले गुमायौं ।’

यता, पर्यटन बोर्ड तथा राष्ट्रिय योजना आयोगले कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असरबारे अध्ययन गरिरहेका छन् । यद्यपि उनीहरूले अध्ययन प्रतिवेदन सार्वजनिक गरिसकेका छैनन् । 

यसबीचमा पर्यटन विभागले एक अध्ययन गरेको थियो । जसमा पर्यटन क्षेत्रमा करीब १२ लाखले रोजगारी गुमाएको पाइएको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्