
बुद्धको मावली स्थल देवदह, जन्मस्थल लुम्बिनी र दरबार स्थल तिलौराकोट (कपिलवस्तु) जोड्ने लुम्बिनी बौद्ध सर्किट सडकमा झण्डै एक दशकदेखि अलपत्र पुल निर्माणको काम बल्ल अगाडि बढेको छ।
रुपन्देहीको तिलोत्तमा–६ गोरकट्टामा निर्माणको क्रममा रहेको तिनाउ पुल झण्डै एक दशकदेखि अलपत्र बनेको थियो। पुलको बैकल्पिक डिजाइन स्वीकृति भएसँगै अलपत्र पुलको निर्माणको काम अगाडि बढेको हो।
१० वर्ष अगाडि ०६७ साल असार २५ गते सम्झौता भएर निर्माण थालिएको उक्त पुलको ३ वटा फाउण्डेसन (जग) र २ स्याम्पल ढलान भएपछि रोकिएकाे थियो।
यो पुन भन्दा पछि निर्माण शुरू भएका यही नदीका अन्य पुलहरू सञ्चालनमा आइसकेका छन्।
६ वटा फाउण्डेसन रहने गरी डिजाइन गरिएको उक्त पुलका ३ वटा फाउण्डेसनमा कडा चट्टान परेका कारण निर्माणको काम रोकिएको थियो। ठप्प भएको पुलको काम मंगलबारदेखि बैकल्पिक डिजाइन स्वीकृत गराएर सुरू गरिएको सडक डिभिजन कार्यालय, बुटवलका इन्जिनियर दुर्गा गौतमले बताए।
यस अगाडि वयल फाउण्डेसन (कुवा जस्तो) डिजाइनमा स्वीकृत भएको थियो। तर, सम्झौता र डिजाइन अनुसार १७ मिटर जमिन बाहेक जानुपर्ने फाउण्डेसन कडा चट्टान परेपछि जम्मा ७ देखि १० मिटरसम्म भित्र गएको थियो। त्यसपछि सडक विभागको पुल महाशाखाबाट विभिन्न चरणमा छलफलपछि फाउण्डेसनलाई परिर्वतन गरी पाइल फाउण्डेसन बनाउने बैकल्पिक डिजाईन स्वीकृत भएपछि पुन निर्माण थालिएको गौतमले बताए।
पहिलो चरणमा ०६९ पुस २४ गते सक्ने गरी १० करोड ३७ लाख ९५ हजार रुपैयाँमा काठमाडौंको एलिट कन्स्ट्रक्सनले ठेक्का पाएको थियो। तर, निर्माणको काम सम्पन्न नभएपछि निर्माण कम्पनीले अन्तिम म्याद ०७७ फागुन १३ गते सम्म थप गरिएको छ।
विभागले वैकल्पिक डिजाइनका लागि चरण–चरणमा छलफल समेत गरिरहेका थिए। पुल्चोक इन्जिनियरबाट पुलको निरीक्षण र अनुगमन हुँदा समेत चट्टानको बनोट र प्रकृतिका कारण फाउण्डेसन तल जान नसक्ने भन्दै बैकल्पिक डिजाइन समेत इन्जिनियरिङ कलेज दिएको थियो। तर उक्त डिजाइन महंगो भएपछि पुल महाशाखाले नै वैकल्पिक डिजाइन तयार गरी स्वीकृत गराएको थियो।
उक्त पाइल डिजाइनबाट फाउण्डेसन थप गर्दा केही रकम ठेक्का रकममा थप हुने समेत बताइएको छ। सम्झौता अनुसार १७ मिटर जानुपर्ने फाउण्डेसन अधिकतम १० मिटरसम्म गएकाले बाँकी जानुपर्ने ७ मिटरको लागत अनुसार रकम घटाएर फाउन्डेसनको रकम थप गरिने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासनीले बताए।
यो पुल निर्माण भएपछि मोतिपुर, शुद्धोधनबाट तिलोत्तमा आउन छोट्टिने छ। उनले भने, ‘लुम्बिनी जाने आन्तारिक एवं बाह्य पर्यटक सिधा पुग्न सक्नेछन्।’
नेकपाका महासचिव विष्णु पौडेलको पहलमा निर्माण थालिएको थियो। पौडेलकै पहलमा पुनः पुल निर्माणको बैकल्पिक डिजाइन र काम अगाडि बढेको हो। पौडेलले अब पुल निर्माणको काम छिट्टै अगाडि बढाएर सम्पन्न गर्न निर्देशन समेत दिएका छन्।
