
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औं जन्मजयन्ती बुधवार नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
यस वर्ष कोरोना भाइरसको संक्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।
विक्रम संवत् १९२३ भाद्र कृष्णऔंसी अर्थात् कुशेऔंसीका दिन जन्मेर विक्रम संवत् १९५३ भाद्र कृष्णऔंसी अर्थात् कुशेऔंसीकै दिन उनको निधन भएको थियो । ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।
नेपाली साहित्यको शृंगार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । साथै नेपालमा छापाखाना भित्र्याउने योगदानसमेत पनि उनले नै पाएका छन् ।
युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेको रामायण विक्रम संवत् १९४१ सालमा छापेर सार्वजनिक गरेका थिए । भानुभक्तलाई चर्चामा ल्याउने काम उनले गरेका थिए । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।
शृंगारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलास लगायतलाई पनि साहित्यमा अघि बढाएका नेपाली साहित्यका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले बताए । नेपाली कविताको माध्यमिककालका केन्द्रीय प्रतिभा भट्टले लेख्नुभएका गजल व्यंग्यात्मक शैलीका समेत हुन्थे । ‘जता हेर्यो त्यतै मेरो नजरमा राम प्यारा छन्’, ‘पाकेको फल छाडी जानु परदेश कुन शास्त्रको धर्म हो’ यी उनका गजलका नमूना हुन् ।