०८ साउन २०८३, शुक्रबार

जहाँ पिसीआर नतिजा आउन एक साता लाग्छ

भदौ ८, २०७७
जहाँ पिसीआर नतिजा आउन एक साता लाग्छ
प्रतिकार्यात्मक तस्वीर।

कोरोना सङ्क्रमित बढ्दै गएपछि प्रयोगशालामा चाप बढ्दा नतिजा आउन ढिलाई हुन थालेको छ। नमुना परीक्षणका लागि दिएकाले नतिजाका लागि एक सातासम्म कुर्नु परेको गुनासो गरेका छन्। 

पूर्वी चितवनको खैरहनीका पत्रकार ध्रुवराज खनालले पिसीआरको नतिजा आउनका लागि एक साता बढी कुनुपर्ने भएकाले त्यहाँका चार नगरपालिकाले प्रयोगशाला स्थापना गनुपर्ने माग बढेको बताए। रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार समयमा नतिजा नपाएपछि समस्या हुने गरेको छ।

उनले चार नगरप्रमुखको बैठकले वागमती प्रदेश सरकारसँग प्रयोगशाला स्थापनाका लागि अनुरोध गरिएको बताए। भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी स्वाबको नतिजा पाउन एक साता कुर्नु परेको बताउँछन्। उनले भने, 'सोमबार नमूना पठाएको नतिजा हिजो प्राप्त गरेका छौं। महानगरका ३ सय स्वाबको नतिजा आउन अझै बाँकी छ ।'

समयमा नतिजा नआउँदा घरमा थुनिएर बस्नु परेको स्थानीयको गुनासो छ। जिल्लामा एउटा मात्र सरकारी प्रयोगशाला रहेको छ । भरतपुर अस्पतालले सञ्चालन गरेको भरतपुर कोभिड १९ प्रयोगशालाको क्षमता कम छ भने नमूना सङ्कलनको चाप बढेको छ।

प्रयोगशाला प्रमुख डा. नीतु अधिकारी प्रयोगशालाले सात घण्टामा ९६ वटा मात्र नमूना परीक्षण गर्न सक्ने बताउँछिन्। नमूनालाई मिसाएर गरिने पुल म्याथडबाट २४ घण्टामा ६ सय सम्म नतिजा निकाल्ने गरेको उनी बताउँछिन्।

पाँचवटा सम्म नमूनालाई मिसाएर परिक्षण गरिने गरेको छ। सबै नमूनालाई मिसाउन नमिल्ने भएकाले चाप अनुसारको नमूना परीक्षण गर्न कठिन भएको अधिकारीको भनाइ छ।

प्रयोगशालामा हाल आठ जना प्राविधिक कर्मचारीले काम गरिरहेका छन्। उनले भनिनन्, 'रात दिन काम गरिरहेको भएपनि समयमा नतिजा दिन सकेका छैनौं।' हाल प्रयोगशालामा ९ सय भन्दा बढी नमूना परीक्षणका लागि पालोमा राखिएको छ। 

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी अस्पतालहरुमा सङ्क्रमण फैलँदा बन्द भएका सेवा सञ्चालनका लागि चिकित्सक, स्वास्थ्यकर्मीको नमूना परीक्षण प्राथमिकतामा राखिएकै कारण क्वारेन्टिनमा बसेकाहरुको नतिजा आउन ढिला भएको बताउँछन्। उनले भने, 'चिकित्सक, स्वास्थ्यकर्मीको परिक्षण गरेर जति सक्दो छिटो अस्पताल खोल्नुपर्ने बाध्यताका कारण क्वारेन्टिनका नमुनाको नतिजा आउन ढिलाई भएको हो।'

जिल्लामा निजी क्षेत्रबाट चितवन मेडिकल कलेजले प्रयोगशाला संञ्चालनमा ल्याएको छ । सो प्रयोगशालामा ६ घण्टामा ४ सय जनाको परीक्षण गर्न मिल्छ। 

सरकारी तवरबाट सङ्कलन भएका नमूना पठाएमा आफूहरु परीक्षणका लागि तयार रहेको अस्पतालका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले बताउँछन्।

उनका अनुसार मेडिकल कलेजको प्रयोगशालामा प्रत्यक्ष रकम तिरेर परीक्षण गर्न आउनेहरु दैनिक २ सय हाराहारी छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी प्रमुख डा. रुना झा सामान्यतया ७२ घण्टा भित्र नतिजा दिने गरी काम गर्नुपर्ने बताउँछिन्।

त्यहाँ बढी चाप भएमा नमूना यहाँ पठाउन आफूले भनीसकेको उनले बताइन्।

सरकारी प्रयोगशाला जहाँ कम चाप छ त्यही पठाएर व्यवस्थापन गर्न सकिने उनको भनाइ छ। निजी प्रयोगशालामा भने हालसम्म नपठाइएको उनले बताइन्। 

यहाँको सरकारी प्रयोगशालामा जिल्लाका सात स्थानीय तह, सरकारी र निजी अस्पताल, मेडिकल कलेजसँगै छिमेकी जिल्लाबाट समेत नमूना पठाइने गरेको छ। चैत अन्तिम साता शुरु भएको सो प्रयोगशालाले हाल सम्म १८ हजार नमूना परीक्षण गरिसकेको छ । जिल्लामा पछिल्ला दिनहरूमा सङ्क्रमण बढ्दो छ । हालसम्म ३६८ जना सङ्क्रमित भईसकेका छन् भने तीन जनाको मृत्यु भएको छ।

अस्पतालमा सङ्क्रमण फैलिएपछि आकस्मिक वाहेकका सेवा बन्द भएका भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल हाल सञ्चालनमा आएका छन्। - नारायण अधिकारी/रासस 

salt training

कमेन्ट गर्नुहोस्