
कोरोनाभाइरसको महामारीअघि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा दैनिक पाँचदेखि सात सयसम्म बिरामी आउँथे । बिरामीको चापका कारण बिहान ९ बजे नै अस्पतालको ओपीडी सेवा सञ्चालन हुन्थ्यो । नाम लेखाउन र टोकन लिन बिरामीहरू ८ बजे नै अस्पताल पुग्थे । ओपीडीका बिरामीको चेकजाँच गर्न डाक्टरलाई भ्याइनभ्याई हुन्थ्यो ।
जनरल अपरेसन, नियमित चेकजाँच गर्नुपर्ने बिरामीले पनि सेवा पाउन घण्टौं कुर्नुपथ्र्याे । कोरोना भाइरसका कारण वैशाख ३१ गतेसम्म देशभरका अस्पतालले ओपीडी सेवा नै बन्द गरे । झण्डै तीन महिनासम्म लकडाउन भयो ।
लकडाउन खुलेपनि बिरामी अस्पतालसम्म पुग्नका लागि यातायात सञ्चालन भएनन् । केही समय अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन भए । केही हप्तादेखि कर्णालीका सात जिल्लामा निषेधाज्ञा नै लगाइयो । जसकाकारण अस्पतालमा आउने बिरामी ह्वात्तै घटेका छन् ।
पहिले दैनिक सात सयसम्म बिरामी आउने प्रदेश अस्पतालमा अहिले एक/डेढ सयमात्रै बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले जानकारी दिए । ‘कोरोनापछि ओपीडीमा ७५ प्रतिशत बिरामी घटेका छन्, तर इमरजेन्सीका बिरामीको चाप पहिलेकै जस्तो छ,’ उनी भन्छन् ‘यातायात बन्द भयो, गम्भीर बिरामी अस्पताल आए, सानोतिनो उपचार गाउँ घरमै गराए ।’
कोरोना त्रासका कारण अन्य अस्पतालले बिरामी प्रदेश अस्पतालमा रिफर गर्दा प्रसुतिका बिरामी बढेको अस्पतालले जनाएको छ । गत आर्थिक वर्षमा ४८ सय बिरामीले सेवा लिएको अस्पतालको तथ्यांकले देखाउँछ । अस्पतालमा आउँदा कोरोना संक्रमण हुने त्रासका कारण पनि अधिकांश बिरामीले घरमै प्राथमिक उपचार गर्ने गरेका छन् ।
सामाजिक दुरी कायम गर्नुपर्ने, कोरोनाबाट आत्तिनु नपर्ने
पछिल्लो समयमा संक्रमण पुष्टि भएका दीर्घरोगी र वृद्धबाहेक अन्य प्रायः संक्रमित सामान्य छन् । ‘गम्भीर प्रकृतिका संक्रमित छैनन्, तर १९ जनामा लक्षण देखिएको छ,’ प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकलपर्सन डाक्टर प्रदीप न्यौपाने भन्छन्, ‘कोरोना लाग्यो भन्दैमा डराइहाल्नुपर्ने अवस्था छैन, तर संक्रणमको दर रोक्नका लागि सचेत हुनैपर्छ ।’
पछिल्लो समय समुदायमा संक्रमण फैलिएका कारण बढी सचेत हुनुपर्ने उनको भनाइ छ । तर मास्क, स्यानिटाइजर र सामाजिक दुरी कायम गरेको खण्डमा भने आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । जुम्ला र सुर्खेतमा मात्रै होइन, कर्णाली प्रदेशका सबै २ हजार ३ सय १९ जना नै कोरोनाका कारण गम्भीर बिरामी थिएनन् । मृत्युपछि कोरोना संक्रमण पुष्टि भएका ६ जनामा पनि अन्य कारण पनि उत्तिकै जिम्मेवार छन् । कोही आत्यहत्या र कोही दीर्घरोगका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
देशका अन्य स्थानमा लक्षणसहितका संक्रमित भेटिएका छन् । कतिपयलाई आईसीयू र भेन्टिलेटरमा राख्नुपरेको छ । कतिपय अस्पतालमा आईसीयू र भेन्टिलेटरको अभाव देखिएको छ, तर कर्णालीमा भने आजको दिनसम्म अवस्था सुखद् छ, कारण यहाँका कुनै पनि संक्रमितलाई भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आएको छैन । यो कर्णालीका लागि अत्यन्तै सुखद् पक्ष भएको सामाजिक विकास मन्त्री दल रावलले बताए ।