
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै स्ट्रेट अफ होर्मुजमा जहाजहरूमाथि आक्रमण नरोकिए इरानका महत्त्वपूर्ण भौतिक पूर्वाधारहरू ध्वस्त पार्ने बताएका छन् । ट्रम्पले इरानी सेनाले कुनै पनि जहाजमा मिसाइल, रकेट वा ड्रोनमार्फत आक्रमण गरेमा त्यसको बदलामा इरानका पुल र पावर प्लान्टहरूलाई निशाना बनाइने चेतावनी दिएका हुन् ।
सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत ट्रम्पले सम्भावित लक्ष्यहरूमा राजधानी तेहरानमा रहेका वा त्यसको आसपासका संरचनाहरू समेत पर्ने उल्लेख गरेका छन् । पछिल्लो ११ दिनदेखि अमेरिकाले इरानमाथि निरन्तर हवाई आक्रमण गरिरहेको छ। इरानी सञ्चारमाध्यमका अनुसार तेहरान, ताब्रिज र बुशेहर (जहाँ इरानको एकमात्र आणविक पावर प्लान्ट छ) लगायतका क्षेत्रमा विष्फोटका आवाजहरू सुनिएका छन्।
ट्रम्पले इरानको 'पिक्याक्स माउन्टेन' भनिने भूमिगत आणविक केन्द्रलाई पनि निशाना बनाउन सक्ने सङ्केत दिएका छन् । अर्कोतर्फ, इरानका शीर्ष वार्ताकार मोहम्मद बागेर घालिबाफले अमेरिकालाई कडा जवाफ दिँदै भनेका छन्, "यदि हाम्रो सुरक्षा सुनिश्चित हुँदैन भने यो क्षेत्रको कुनै पनि पूर्वाधार सुरक्षित रहने छैन।" उनले इरानले तेल बेच्न नपाए कसैले पनि तेल बेच्न नपाउने चेतावनी दिएका छन्।
यस बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रति ब्यारेल ९४ डलर पुगेको छ।