
सुर्खेतको वीरेन्द्र्रनगर–२ फलाटेमा फुपूको घरमा आएका ३ बालबालिकामाथि निर्घात कुटपिट भएको छ ।
गाउँमा ७ जनाको समूहले २ दाजुभाइ र १ दिदीमाथि निर्घात कुटपिट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्ती मगरले घटनामा संलग्न भनिएका ४ जनालाई पक्राउ गरिएको बताए । ‘घटनाबारे हालसम्म जाहेरी परेको छैन । ३ जना फरार भन्ने कुरा आएको छ,’ उनले भने, ‘बाँकी कुरा जाहेरी परिसकेपछि खबर गरौंला । के भएको हो भन्ने कुरा अनुसन्धानमा खुल्ला ।’
फुपूको घर आएका १७ वर्षीया दिदी, १६ र १४ वर्षीय दाजुभाइ माथि कुटपिट भएको हो । कुटाइ खाएका २ भाइको शरीरमा निलडाम देखिएका छन् भने दिदीले समेत कुटपिट भएको गुनासो गरेकी छन् । पीडित बालबालिकाको परिचय गोप्य राखिएको छ ।
दिदीलाई अपहरण गरी लागूऔषध समेत जबरजस्ती सेवन गराइएको आरोप छ । स्थानीय पदम बुढा लगायतको समूहले जंगलमा हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेको बताइएको छ ।
पीडित बालबालिकाका फुपाजूले गाउँमा मेलमिलाप गर्न दबाब आएकाले प्रहरीमा उजुरी नदिएको बताएका छन् ।