
आम निर्वाचनको ५ दिनअघि चुनावी रिपोर्टिङका क्रममा सम्पादक विमल गौतम र म रुपन्देहीको एउटा गाउँमा पुगेका थियौं, जहाँ अहिलेका कृषि विकास मन्त्री घनश्याम भुसाल घरदैलो अभियानमा थिए । घरदैलोकै बीचमा भेला भएका स्थानीय किसानहरूको सभालाई सम्बोधन गर्दै भुसालले अब किसानले बिउमलको समस्या भोग्नुनपर्ने बताउँदा सर्वसाधारणले परर ताली बजाए ।
सोही कोणसभामा महाभारतको एउटा किस्सा सुनाएर भुसालले आफ्ना प्रतिद्वन्द्वी दीपक बोहोराप्रति सालीन विरोध जनाए, स्थानीयले फेरि ताली बजाए । सो कोणसभा सकिएपछि हामीले भुसालसँग स्थानीयको आँगनमा सानो अन्तवार्ता गर्यौं । अन्तर्वार्ता चलिरहेको समयमा त्यहाँ उपस्थित स्थानीयले परैबाट ताली बजाए । अन्तर्वार्ताका क्रममा भुसालले भनेका थिए, ७० वर्षपछि नेपालमा कम्युनिस्ट पार्टीको बहुमतको सरकार बन्दैछ । आफ्नो जीवनमा परिवर्तन खोजेका जनताले राहात महसूस गर्नेछन् ।
अघिल्लो निर्वाचनमा कांग्रेसका बालकृष्ण खाणसँग मात्र ८६ भोटले पराजित भुसाल २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा दीपक बोहोरालाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भए । भुसालले चुनाव जित्नुमा बोहोराको अलोकप्रियताभन्दा आफ्नै ख्याति काफी थियो ।
चुनाव जितेर आएपछि पनि भुसाल पहिलो चरणमा सरकारमा समेटिएनन् । नेकपाभित्र वैचारिक बहसमा उत्रिए, एकप्रकारले पार्टीभित्रको प्रतिपक्षी कित्तामै आफ्नो पहिचान स्थापित गरे । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग हरेक विषयमा बहस गरे ।
२०७६ मंसिरमा भएको मन्त्रिपरिषद् पुनर्गठनमा भुसाल ओली सरकारमा समेटिए । त्यो बेला कतिपयले घनश्यामलाई सुहाउँदो मन्त्रालय भएन भनेर पनि टिप्पणी गरे । तर माक्सवादका व्याख्याता भुसालले कृषि मन्त्रालय सम्हालेपछि परम्परागत र निर्वाहमुखी नेपालको कृषि पेशामा केही नीतिगत परिवर्तन ल्याउँछन् भन्ने धेरैले अपेक्षा गरेका थिए ।
मन्त्री बनेको झण्डै डेढ महिना त भुसालले अध्ययन मै बिताए ।
****
कोरोना कहरका कारण स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नदिन आदेश जारी गरेपनि पछिल्ला केही दिनयता देशका विभिन्न ठाउँमा सयौं मानिस उभिएका तस्वीरले सामाजिक सञ्जाल रंगिएका छन् । मैला र फाटेका झुत्रे कपडा लगाएका गरीब किसानहरू हातमा एउटा बोरा लिएर लामो लाइनमा बसिरहेका देखिन्छन् । यो केबल एक जिल्लामा मात्र होइन देशभर देखिएको छ ।
गरीब किसान लस्कर लागेका यी तस्वीरका अगाडि र पछाडि धनश्याम भुसालको नाम जोडिएको छ । यिनीहरू राज्यसँग कुनै विषेश अनुदान माग्न आएका होइनन्, पैसा तिरेर रासायनिक मल किन्न आएका हुन् ।
कोरोनाको यत्रो सन्त्रासका बावजुद पनि सर्वसाधारण किसान मध्यरातदेखि मल पसलमा लाइनमा बसिरहेका छन् । वर्षभरि खाने मुख्य बाली धान भित्र्याउने बेलामा मल नपाउँदा उनीहरूमा बेचैनी देखिएको छ । सरकार र मन्त्रीहरूले दैनिक गाइरहेको समाजवादको भजनले उनीहरूको जीवनमा खासै प्रभाव पारेका छैन ।
बाँडिएका रेल र पानीजहाजका हावादारी सपनाले उनीहरूको खेतमा धानको बाला लाग्ने छैन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, राजाको शासन र गणतन्त्र आइसक्दा पनि कसैको जीवनमा परिवर्तन आएको छैन भने ती हुन् नेपालका किसान ।
सरकारको नालायकीको शिकार देशका लाखौं किसान बनिरहेका छन् । कोरोनाको त्रास नभएको भए शायद यतिबेला कति ठाउँमा नारा जुलुस हुने थिए ।
कोरोनाका कारण उद्योग कलकारखाना र निर्माण व्यवसायको काम रोकिएपछि सर्वसाधारणहरू गाउँ फर्के र खेती किसानीमा लागे । टुटेको कृषिको चक्रलाई कोरोना संकटले जोड्न थालेकोमा अर्थशस्त्रीहरू उत्साही थिए ।
शहरमा रोजगारी टुटेपछि सर्वसाधारणहरू गाउँ फर्के अनि बाँझिएका बारी खनजोत गर्न थाले । कतिपय स्थानीय तहले बाँझो खेत जोत्ने किसानलाई अनुदान दिएपछि वर्षौदेखि बाँझिएका जमीनमा बिउ रोपिए ।
अर्थतन्त्रका अन्य सूचकहरू ओरालो लागेपनि पर्याप्त वर्षा भएको, सर्वसाधारणहरू कृषिमा फर्किएकाले जीडीपीमा यस वर्ष कृषि क्षेत्रको योगदान विगतमा भन्दा धेरै हुने अपेक्षा गरिएको थियो । तर धान भित्र्याउने बेलामा अहिले किसानहरू रासायनिक मलको अभावमा भौँतारिइरहेका छन् । सबैभन्दा बढी चितवनमा देखिएको छ, जुन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । आफ्ना मतदाताहरू मल अभावमा रातभर लाइनमा बसे पनि मलको व्यवस्था गर भन्ने नैतिक आधार प्रचण्डसँग छैन, उनी किमकर्तव्यविमूढ छन् ।
जसको बदमासीले अहिले देशभर मल अभाव भइरहेको छ, उनकै घरमा प्रचण्ड बास बसिरहेका छन् । नेपालीहरूको कण्ठमा झुण्डिइरहने नाम शारदाप्रसाद अधिकारी । राजनीतिक प्रभावमा ठूलाठूला ठेक्कापट्टा कब्जामा पार्न सफल शारदाको श्रीवृद्धिका लागि लाखौं किसानहरूले कुर्बानी गर्नुपरेको छ । जसको घरमा देश हाँक्ने क्याप्टेनहरूका लागि चमेनाको व्यवस्था हुन्छ, मानवभवनको त्यो भीमकाय भिल्ला जहाँ सर्वहाराको पार्टीको सिद्धान्त र एकता फुर्छ ।
चिरपरिचित शारदाप्रसाद अधिकारी, जसको गुन तिर्न अर्बौंको मल आयात गर्ने ठेक्का दिइएको छ । अन्यथा निर्माणको काम जताततै अलपत्र पारेका कालोसूचीमा पर्नुपर्ने यी बदनाम ठेकेदारलाई अनुभव नै नभएको मल आयातको ठेक्का किन दिइन्थ्यो ?
जसले रासायनिक मल आयातको ठेक्का पाए, सोही दिनदेखि नै यसवर्ष मलको हाहाकार हुने अनुमान गरिएको थियो । एकजना ठेकेदारको बदमासीका कारण अहिले लाखौं किसानको निद हराम भएको छ । तर राजनीतिक नेतृत्वबाट अभयदान पाएका उनी दण्डित हुनुपर्ने छैन, बरु गणतन्त्र दिवसको दिन विभूषित नै हुनुपर्नेछ ।
सरकार अहिले आएर बंगलादेशबाट रासायनिक मल सापटीमा ल्याउने कुरा गरिरहेको छ । बंगलादेशबाट रासायनिक मल जतिबेला आउने छ, नेपालमा धान काट्ने समय हुनेछ, तर पनि ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा घन्किरहने छ ।
****
घनश्याम मन्त्री बने, तर ऊखु किसानहरू रुँदैरुँदै माइतीघर मण्डलामा आएर बिलौना गरे । सरकारले आश्वासनको पोको दिएर फर्काएपनि माथिसम्म नेक्सस भएका चिनी मिलवालाले किसानको पैसा दिएनन् । कोरोनाका कारण यसपटक शायद किसानहरू काठमाडौं आउने छैनन् । मिलवालासँग त रेडिमेट उत्तर छ, कोरोनाका कारण पैसा दिन सक्दैनौं । ऊखु किसानको बारीमा पनि ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा घन्किरहने नै छ ।
विज्ञहरूले तयारी थाल्न चेतावनी दिँदादिँदै सलहको हुल नेपाल आएर बाली सखाप पार्यो । भारतबाट छिरेको सलह तराईको फाँट हुँदै पहाडमा पुगेपछि कृषि मन्त्री भुसाललाई सलह कक्रक्क पार्न अमेरिका, अस्ट्रेलियाबाट मेटल साउण्ड ल्याउनेबारे योजना फुर्यो, मानौं रुपन्देहीमा मेटल साउण्ड बजाएपछि प्युठान, बाग्लुङमा मकै खाइरहेको सहल कक्रक्क हुन्छ । कालगतीले सहल मरेपछि घनश्यामलाई हेबी मेटल साउण्ड ल्याउने टन्टै साफ ।
भदौको टन्टलापुर घाममा किसानहरू मलका लागि लाइन लागेको तस्वीर देखेपछि दोस्रो व्यक्ति कृषिमन्त्री भएको भए शायद घनश्याम भुसालले लेनिन र स्टालिनको उदाहरण पेश गर्दै लामो लेखमार्फत कृषिमन्त्रीको राजीनामा माग्ने थिए होला । मध्य भदौमा किसानका खेतमा भइरहेको परीक्षामा पनि भुसालको मार्क्सवादको सिद्धान्तले काम गरिरहेका छ ।
मल अभावमा कृषकको खेतमा धान नफले पनि सिंहदरबारमा छापिने चिल्ला प्रतिवेदनमा धानको उत्पादन बढ्ने नै छ । युवराज खतिवडाको अर्थशास्त्रको हिसाबमा वृद्धिदर ७ प्रतिशत पुग्ने नै छ । अहिले ठाउँठाउँमा मल किन्ने लाइनमा देखिएका किसानका तस्वीर समृद्धिको दोस्रो किस्तामा रासायनिक मल कारखाना खोल्ने सपनाका लागि काम लाग्ने छन्, अढाइ वर्षपछि आउने आमनिर्वाचनमा ।