
धर्मराज पाण्डे (डिआर) -
हो म पाखे !
मैले बोल्ने शब्दहरू अलिक झर्रो छ
लालित्यबिनाको स्वभाब मेरो खरो छ
मैले चाखेको जीवनको स्वाद टर्रो छ
र पनि गर्व छ यसमा मेरो जरो छ।
मलाई केको लाज हो !
मेरा पखेराहरुमा विरताको गाथा छ
तिमीले लाटो ठान्ने मानिस निकै बाठो छ
महाज्ञानीहरूलाई म कसरी सम्झाउ
मेरै पाखो-बारीको शिरमा यो देशको सगरमाथा छ।
ए,सभ्य भनिएकाहरू !
मलाई एउटा अभिमान छ
रगतका थोपाहरूमा स्वाभिमान छ
यो देशका लेकबेसीहरूमा उज्यालो छर्न
पाखाबाटै आएको कुलमान त छ।
हो, म पाखे!
पाखे हुनुमा गर्व छ
मलाई केको शर्म हँ ?