
नेपालमा एउटा फलको निकै चर्चा छ, कसैले बगैचामा फलाएर त कसैले आफ्नै कौसीको गमलामा फलाएर ‘ड्रागन’ फलको प्रचार गरिरहेका छन् ।
नेपालका लागि नौलो ‘ड्रागन’ फलको बाहिर जति आकर्षक छ, भित्र झन् ज्यादा देख्न सकिन्छ । खानामा अति नै मिठो नभए पनि स्वास्थ्य सम्बन्धी अत्यधिक उपयोगी भनिएकाले ‘ड्रागन’ फलको चर्चा चुलिएको हो ।
भीआईपीहरूले मात्र खाने आयातित फल भनेर चिनिँदै आएकोमा पछिल्लो समय सबैको पहुँचमा पुगेको छ ड्रागन फल । गमलामा रोप्दा पनि ५–१० गेडा दाना खाना पाइने भएपछि राजधानीका धेरै घरवालाले ड्रागन फल लगाउन थालेका छन् ।
ड्रागन फल नेपालमा भित्रिएको लामो समय भएको छैन । तर यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दा जति आकर्षक हुन्छ, त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महंगो मूल्यलाई बिर्साइदिन्छ ।
दक्षिण अमेरिकाको मेक्सिकोबाट उत्पत्ति भएको फल सिँउडी प्रजातिमा पर्छ । यसको वैज्ञानिक नाम ‘हाइलोसेरुस अन्डटुस’ हो । यसलाई पितया, मुन लभर्स, रात कि रानी, रात कि घण्टी, क्यान्डेरेला लगायतको नामले पनि चिन्ने गरिन्छ ।
खेती गरेको २ वर्षमा फल लाग्न शुरू हुन्छ । यो फल नेपाली बजारमा प्रतिकिलो १ हजारदेखि १ हजार २०० रूपैयाँसम्म बिक्छ । तर मागअनुसार यसको आपूर्ति हुन सकेको छैन ।
ड्रागन फलको खेती गर्न त्यति गाह्रो छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ । समुन्द्री सतहदेखि करीब ३ हजार मिटसम्मको उचाईमा ड्रागन उत्पादन सम्भव छ । सुख्खा ठाउँबाट पनि यसको फल प्राप्त गर्न सकिन्छ ।
ड्रागनको बोटले थुप्रै वर्षसम्म उत्पादन दिने गर्छ । एउटा फलको तौल १५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । काठमाडौं, पोखरा, चितवन लगायतका नर्सरीमा यसको बिरुवा उपलब्ध छ । घरको छत तथा करेसाबारीमा समेत बिरुवा रोप्न सकिन्छ ।
फूल फुलेको ४५ दिनमा यसको फल तयार हुन्छ । जेठदेखि असोज–कात्तिकसम्म फूल फुलिरहन्छ । यसले राम्रो उत्पादन दिने भएकाले खेती गरेर पनि मनग्यै आम्दानी गर्न सकिन्छ ।
के–के बन्छ ड्रागन फलबाट ?
– यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ ।
– यसबाट केक पनि तयार पार्न सकिन्छ ।
– गर्मी मौसममा लस्सी बनाएर खान सकिन्छ ।
– ड्रागनको मुन्टाको तरकारी निकै स्वादिष्ट हुन्छ ।
– यो फल सलादको रूपमा पनि प्रयोग हुन्छ ।
– विभिन्न मिठाइका परिकारमा निकै उपयोगी हुन्छ ।
– पाकेको ड्रागन फल त्यतिकै खादा पनि मिठो हुन्छ र स्वास्थ्यवद्र्धक पनि छ ।
स्वास्थ्यलाई फाइदै–फाइदा
– छालासम्बन्धी विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ ।
– यसले कपाललाई पनि फाइदा पुर्याउँछ ।
– यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ ।
– कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ ।
– यसले कब्जियतको समस्यालाई समेत निको पार्छ ।
– क्यान्सरको सम्भावनाबाट टाढा रहनका लागि पनि ड्रागन फल सेवन गर्दा हुन्छ ।
– यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ ।
– मजबुत हाड र दाँतको लागि ड्रागनको फल उपयोगी हुन्छ ।
– यसले शरीरमा सेल उत्पादनमा पनि मद्दत पुर्याउँछ ।
– बढ्दो उमेरका बालबालिकाका लागि ड्रागन फल निकै उपयोगी हुन्छ ।
– यसले शारीरिक तथा मानसिक विकासमा महत्त्वपूर्ण टेवा पुर्याउँछ ।
– आँखाको दृष्टिका लागि पनि ड्रागन उपयोगी फल हो ।
– रोगप्रतिरोधी क्षमता बढाउनका लागि पनि उपयोगी फल हो ।
– निराश हुने र डराउने समस्या छ भने पनि ड्रागन फल नियमित सेवन गर्दा फाइदाजनक छ ।
– यो फलमा उच्च फाइबर हुने हुँदा ‘कार्डियोभास्कुलर डिजिज’ नष्ट गर्न पनि राम्रो फल भनी लिड्स विश्वविद्यालयको अध्ययनले प्रमाणित गरेको छ ।
– मुटु सम्बन्धी जीवाणु सीएचडी नियन्त्रणका लागि पनि राम्रो फल हो ड्रागन ।
– एन्टी–एक्सिडेन्टका लागि धनी फल मानिएको ड्रागनले क्षति पुगेका शरीरका तन्तुलाई सन्तुलन गर्न ठूलो भूमिका खेलेको हुन्छ ।