०३ असार २०८३, बुधबार

अनलाइन गतिलो नभएपछि स्कूलमा जोरबिजोर प्रणालीमा पठनपाठन, विद्यार्थी फुरुङ्ग

असोज १४, २०७७
अनलाइन गतिलो नभएपछि स्कूलमा जोरबिजोर प्रणालीमा पठनपाठन, विद्यार्थी फुरुङ्ग

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ को सरस्वती माविले जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई स्कूलमै बोलाएर गत आइतवारदेखि पढाइ थालेको छ ।

विद्यार्थी लामो समय पढाइविहीन भएर बस्दा नराम्रो काममा लाग्न सक्ने भन्दै विद्यालयले पढाउन शुुरू गरेको हो । 

विद्यालयमा ४०० विद्यार्थी छन् । विद्यालयका प्रधानाध्यापक ठाकुर पाण्डेले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोलिएको बताए ।

‘छत्रदेवमा ४७ वटै विद्यालयमा आइतवारबाट रोल नम्बर जोर भएकालाई एक दिन र बिजोर भएकालाई अर्कोदिन बोलाएर पढाउन थालेका छौं । विद्यार्थी र शिक्षकलाई अनिवार्य मास्क प्रयोग गराएका छौं । विद्यालयमा स्यानिटाइजरको व्यवस्था छ । एउटा बेच्नमा २ जना मात्र बस्छन् । विद्यार्थीहरू पनि विद्यालयमा आउन पाउँदा फुरुङ्ग भएका छन्’ पाण्डेले लोकान्तरसँग भने  ।

गुल्मीको तम्घासस्थित सिद्धबाबा माविले १२ वटा टोल बनाएर विद्यार्थीलाई टोल–टोलमा पुगेर पढाउन थालेको छ । विद्यालयले टोलमै १०–१२ जना विद्यार्थीको समूह बनाएर भौतिक दूरी कायम गर्दै विगत २ हप्ता अघिदेखि पढाइरहेको छ ।

विद्यालयका प्रधानाध्यापक डीबी श्रीषले लोकान्तरसँग भने, ‘अनलाइन कक्षा खासै प्रभावकारी नभएपछि विद्यार्थीलाई टोलटोलमा गएर पढाउन थालेका छौं । विद्यार्थी घर नजिकै शिक्षक आएर पढाउन दंग छन् । गुुल्मीमा अन्य जिल्लाहरूमा जस्तो कोरोना संक्रमणको दर पनि खासै छैन । स्कूल वरपरका विद्यार्थीलाई स्कूलमै समूह बनाएर पनि पढाएका छौं । हामीलाई स्थानीय तहले सानो–सानो समूहमा पढाउन अनुमति दिएपछि पढाउन थालेका हौं ।’ 

श्रीषले थपे, ‘हामीले अहिले पहिलो त्रैमासिक परीक्षा पनि चलाइराखेका छौं ।’ रेसुंगा नगरपालिका–८ मा रहेको विद्यालयमा १ हजार ५०० विद्यार्थी अध्ययनरत छन् । सिद्धबाबाले शुरू गरेको टोलटोलमा पढाइ अभ्यास गुल्मीका अन्य विद्यालयले पनि सिको गर्दै पढाउन थालेका छन् ।

पाल्पाको तानसेनस्थित दमकडा माविले अहिले पढाउँदै पहिलो त्रैमासिक परीक्षा चलाइराखेको छ । विद्यालयका प्रधानाध्यापक मोहन सापकोटाले आफूहरूले वैशाख अन्तिम हप्तादेखि रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरेर विद्यार्थीलाई सिकाइ केन्द्रका रूपमा पढाइएको बताए । 

‘हामीले रेडियो, टेलिभिजन, अनलाइन पढाइ पनि चलायौं,’ सापकोटाले भने, ‘अहिले टोल शिक्षा चलाएका छौं । टोलमा शिक्षक जान्छन् । जसमा ९० प्रतिशतभन्दा बढी विद्यार्थी उपस्थित भएका छन् ।’ विद्यालयका हरेक कक्षा शिक्षक फेसबूकमा ग्रूप बनाएका छन् । त्यही ग्रूपमा शिक्षकले होमवर्क दिन्छन् । विद्यार्थीले होमवर्क गरी फोटो खिचेर त्यही ग्रूपमा हालिदिन्छन् । शिक्षकले हेरेर ठीक/बेठीक भनिदिनुहुन्छ । विद्यार्थीमा यसप्रति रुचि पनि बढेको छ ।’

असोज १ गतेदेखि सरकारले विद्यार्थी सिकाइ सहजीकरण २०७७ अनुसार विद्यालय तहको पठनपाठन गर्न निर्देशन दिएको छ । विद्यालयमा विद्यार्थी बोलाएर पढाउन शुरू गरिसकेका छन् । 

दाङ, रोल्पा र रुकुम पश्चिममा केही विद्यार्थी पनि पढाउन जुटेका छन् । १२ जिल्ला रहेको प्रदेशमा तराईका ६ जिल्लामा संक्रमण फैलिँदो भए पनि पहाडी जिल्लामा भने संक्रमण त्यति तीव्र छैन । जसले गर्दा विद्यार्थीको ध्यान अन्यत्र मोडिन नदिन पढाउन थालिएको छ ।

अनलाइन शिक्षण सिकाइ क्रियाकलापभन्दा टोल–टोलमा बनाइएको सिकाइ केन्द्रमा शिक्षक विद्यार्थी उपस्थित भएर गरिएको पढाइ बढी प्रभावकारी हुने अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली बताउँछन् । मनोसामाजिक परामर्श दिने, लेखन सीपसम्बन्धी कला, नियमित हात धुने बानीको विकास र आवश्यक सरसफाइसम्बन्धी जानकारी गराउने गराउँदै अब विद्यार्थीलाई पढाउनुुपर्ने ज्ञवालीको भनाइ छ । लामो समय विद्यार्थीको पढाइ नहुुँदा विद्यार्थीमा एकोहोरो हुुने, रिसाउने प्रवृत्ति देखिन थालेको छ । बुवा आमालाई ढाटेर व्यक्तिगत स्वार्थका काममा पनि लाग्न थालेका हुुन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयले जोखिम कम भएका क्षेत्रमा सिकाइ केन्द्रमार्फत पठनपाठन गराउन अनुुमति पनि दिएको छ । मन्त्रालयका सूचना अधिकारी डा. पुुष्पराज पौडेलले संक्रमणको कम जोखिम भएका जिल्ला र ठाउँका विद्यालयलाई सिकाइ केन्द्रमार्फत भौतिक दूरी कायम गरेर पढाउन अनुुमति दिएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्