
बुटवलबाट प्रदेश पाँचको राजधानी दाङ सार्ने प्रदेश सरकारको निर्णयकाविरुद्ध बुटवलमा आन्दोलन चर्किएको छ । नेपाली कांग्रेस र रुपन्देही ६० भन्दा बढी संघसंस्था आबद्ध सञ्जाल रुपन्देहीले बुटवललाई नै राजधानी बनाउनुपर्ने भन्दै विहानैदेखि प्रदर्शन गरेका छन् ।
बुटवलको राजमार्ग चौराहादेखि शुरू भएको सञ्जालको प्रदर्शन ट्रार्फिकचोकसम्म पुगेको थियो । सो अवसरमा बोल्दै होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसीले रुपन्देहीबाट राजधानी सार्न कुनै हालतमा दिन नहुने बताए । नेताको लहडमा राजधानी सार्न खोजेको भन्दै आफूहरुले आन्दोलनलाई चर्काउने बताए ।
बुटवलमा आन्दोलन चर्किएपछि रुपन्देही प्रशासनले बुटवलमा ५ जनाभन्दा बढी जम्मा हुन नदिने गरी १२ भन्दा बढी ठाउँलाई निषेधित क्षेत्र तोकेको छ । त्यस्तै रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आलमले बुटवललाई राजधानी कायम नगरे त्यसको मूल्य सरकारले चुकाउनुपर्ने बताए ।
प्रदेश सरकारले राजधानी दाङको देउखुरी बनाउने र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा लगेको छ । राजधानीको विवादले नेकपामा खैलाबैला भएको छ ।
नेविसंघका केन्द्रीय उपसभापति मुक्ति पौडेलले आज दिउसो बुटवलमा गुठी आन्दोलनभन्दा बढी प्रदर्शन हुने बताए । उनले बुटवलबाट राजधानी सार्न दिन नहुने बताए ।





