
स्याङ्जा जिल्लाको चापकोट नगरपालिकामा एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको छ ।
नगरपालिकाका तर्फबाट विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध स्वास्थ्य सचेना अपनाउन आग्रह समेत गरिएको छ ।
नगर प्रमुख शिवकुमार गिरीका अनुसार खाद्यान्न र औषधि पसल बाहेकका बजार क्षेत्रका सबै पसल, वडा कार्यालयमा सेवा बन्द गरिएको छ ।
नगरका ३९ जनाको पीसीआर जाँच गरिएकोमा १४ जना कोरोना संक्रमित बनेका हुन् । संक्रमितमध्ये १० पुरुष र ४ महिला हुन् । तीमध्ये १३ जनाको हेलुस्थित कालिका सामुदायिक अस्पताल र १ जनाको पोखरामा उपचार भइरहेको छ ।
उनीहरूको सम्पर्कमा आएकाहरूको समेत स्वाब संकलन गरी जाँच गरिने तयारी भएको नगरपालिकाले जनाएको छ ।
कोरोना संक्रमित हुनेहरू चापाकोटमा केही दिन पहिले भएको आँखा शिविरमा सहभागी भएका थिए । बीएम फाउन्डेसन र ताइवान प्रिभेन्टिभ ब्लाइन्डेसन फाउन्डेसनले त्यहाँ १ दिने आँखा शिविर गरेको थियो ।
शिविरमा उपस्थित चिकित्सक र आयोजकमा समेत कोरोना पुष्टि भएको थियो । यसरी नगरले चापाकोट नगरपालिकामा कोरोना संक्रमण थप फैलिन नदिन उच्च सतर्कता अपनाएको छ ।