०८ असार २०८३, सोमबार
आलेख

बडा दशैंको अनेक सन्दर्भ : नारीहरु यसरी भगवान कहलिए

कात्तिक ११, २०७७
बडा दशैंको अनेक सन्दर्भ : नारीहरु यसरी भगवान कहलिए

नेपालमा बडादशैंलाई अन्नको पर्व, मातृ शक्तिको सम्मान, उत्पादन र सुरक्षासँग सम्वन्धित साधनहरुको व्यवस्थापन, तथा रामायणका मुख्य पात्र श्रीरामको विजय गाथासँग सम्वन्धित बनाएर हरेक वर्ष आश्विन शुक्ल पक्ष दशमी तिथिमा धुमधामसँग मनाइन्छ। नेपालका राजाहरूले हिन्दु धर्मलाई राज धर्म बनाएका र तदनुरुप दशैंलाई हिन्दु पर्वका रुपमा मनाउन थालेपछि यसलाई इतर धर्मावलम्बीहरुले विरोध पनि गरेको पाइन्छ। 
  
उपरोक्त सबै पक्षको विश्लेषण गरेर यसको ऐतिहासिकता पत्ता लगाउनु पर्ने देखिन्छ। वास्तवमा नेपाली इतिहासविद्हरुका निम्ति यो धेरै महत्त्वपूर्ण अभिभारा हो। तर यतातिर उनीहरुको ध्यान जान सकेको देखिन्न। 
बडादशैं पर्वमा धेरै सन्दर्भहरू जोडिएर आएका छन् । ती सबैका छुट्टाछुट्टै उद्‍गम र विकासको इतिहास रहेको देखिन्छ। सबै पक्ष महत्त्वपूर्ण देखिए पनि यसमा सबै भन्दा महत्त्वपूर्ण मैले अन्न पूजालाई ठानेको छु। त्यसपछि हातहतियार र दुर्गा पूजा महत्त्वपूर्ण देखिन्छ। रामायण र रामको गाथामा हिन्दु धर्मावलम्बी हरुको जतिसुकै भावना जोड्ने कोशिश गरिए पनि त्यसको ऐतिहासिकता पुष्टि हुन आजसम्म पनि सकेको छैन। 

आर्य र हिन्दूलाई एउटै देख्ने व्यक्तिहरु पनि नेपाली समाजमा पाइन्छन्। आर्य अहिले मानव जाती भित्रको एक मुख्य महाजाती हो। यो जाती अहिले संसारभरी फैलिएको छ। यसको नाम पहिले काशी अनि खासी र खस हुँदै भारतीय उप महाद्वीपमा प्रवेश गरेपछि आर्य नामाकरण भएको मानिन्छ।

 सिन्ध घाटीमा बसोवास गर्ने आर्य समूदायलाई सिन्धु भनिन्थ्यो। इरानी भाषामा स को उच्चारण नभएको हुनाले त्यहाँका मानिसहरुले सिन्धुलाई हिन्दु नामाकरण गरे। कालान्तरमा सबैले हिन्दु नै भन्न थाले। खासगरी सिन्ध नदी पार गरी पूर्वमा बसोवास गर्ने सवै आर्यहरू हिन्दु भए । ईशाको सातौँ शताब्दीमा आद्य शंकराचार्यले सनातन धर्मको नाम परिवर्तन गराई हिन्दु  गराएका हुन्।  घुमन्ते अवस्थामा रहेको खस जाती ईपू  २ शताब्दी  पहिले कृषि उत्पादनमा प्रवेश गरेपछि आर्य नामाकरण भएको मानिन्छ। आर्य संस्कृत शब्द हो। यसको अर्थ हो हलो जोतेर कृषि उत्पादन गर्ने सम्मानित व्यक्ति। पछि उनीहरुले आर्य शब्दको परिभाषा सर्वश्रेष्ठ भन्ने गरे। 

ईपू १० हजार वर्ष भन्दा पहिले मातृ प्रधान अवस्थामा रहेका आर्यहरू काश्पियन सागरको किनारमा पुगेका थिए। त्यहाँ उनीहरुले ठुलाठुला लडाइ लड्नु पर्यो। लडाइमा पुरुषहरूको नेतृत्व स्थापित हुन थाल्यो। त्यही देखि आर्य समाजमा पितृसत्ता स्थापित भएको मानिन्छ। तर पनि पछि सम्म समाजमा महामाताहरुको स्थान सर्वोच्च रहने गरेको थियो। 

लाखौँ वर्षसम्म आर्य जाती मातृ प्रधान थियो। त्यस वेलाका सर्वश्रेष्ठ महामाताहरुको सम्मान आज पनि ईश्वरीय शक्तिका रुपमा दुर्गा ,भवानी ,काली ,चण्डी आदिको नाममा गरिन्छ। तिनै महामाताहरुलाई नवदुर्गा भनेर ९ दिन सम्म हरेक वर्ष पूजा गरेर संझना गरिन्छ। यो वडा दशैंको एउटा महत्वपूर्ण सन्दर्भ हो। 

प्राचीन काल देखि नै उत्पादनका साधन तथा आफ्नो समुदायको सुरक्षाका लागि हतियारलाई ठूलो महत्व दिइन्थ्यो र आज पनि महत्वपूर्ण मानिएकै छ। हतियारको संकलन र संरक्षण मातृ प्रधान समाज देखिकै परम्परा हो। त्यसकै निरन्तरताका रुपमा दुर्गा पूजामा हतियारलाई आज पनि समावेश गरिन्छ। बडा दशैंको यो आर्को सन्दर्भ हो। 

मानव जाति कृषि उत्पादनमा प्रवेश गरे पछि सभ्यताको चरणमा प्रवेश गरेको हो। नेपाल लगायत भारतीय उप महाद्वीपमा आर्यहरुकोआगमन भन्दा पहिले कृषि उत्पादनमा प्रवेश गरिसकेका द्राविडहरुको बसोवास थियो। उनीहरुले नै कृषिको महत्व स्थापित गर्न विशेष पर्वका रुपमा अन्न पूजाको चलन चलाएका हुन्। पछि आर्यहरू यहाँ प्रवेश गरे पश्चात् त्यसमा केही सुधार गर्दै आफ्नै पर्वका रुपमा यसलाई अरु महत्वका साथ निरन्तरता दिएका हुन्।

द्राविडहरुले सामुहिक रुपमा मनोरञ्जन र खानपिनका लागि उत्सवको चलन चलाए। आर्यहरूले त्यसका साथै चामलको टीका र जमरालाई फूलका रुपमा शिरमा सिउरिने चलन थपेका हुन्। यो बडादशैंको अर्को सन्दर्भ हो। 
अव चौथो सन्दर्भका सम्वन्धमा चर्चा गरौँ। रामायण र श्रीराम आर्य जातिमा सृजना गरिएको श्रुति काव्य र त्यसका एक मुख्य पात्र हुन्। जसलाई राज कवि वाल्मीकिले देवनागरी लिपि र परिमार्जित संस्कृत भाषामा ईशाको दोस्रो शताब्दी तिर लेखेको मानिन्छ ।

अहिले पनि रामायणलाई हिन्दु आर्यहरूले अत्यन्त सम्मानका साथ लिने गर्छन्। तर रामायणका पात्रहरू र त्यसमा उल्लेखित घटनाहरूको सम्वन्धमा कुनै पुरातात्विक र ऐतिहासिक प्रमाण प्रस्तुत गर्न सकिएको छैन। तैपनि यसलाई लोकप्रिय संस्कृत साहित्यका रुपमा लिन सकिन्छ। यसमा उल्लेखित घटनाहरूमा रहेका अतिरञ्जनलाई हटाएर प्रवृत्तिहरूको वस्तुगत विश्लेषण गर्ने हो भने समाज विकासको कुनै कालखण्डलाई  बुझ्न सकिनेछ। त्यसरी यसलाई हेर्दा रामायण दास युग कालीन प्रवृत्ति गत घटनामा आधारित  काव्य हुन् सक्ने अनुमान गर्न सकिन्छ। नेपालमा दास युग इशाको दोस्रो शताब्दी सम्म रहेको इतिहासकारहरुको भनाइ छ । यद्यपि त्यसको अवशेष नेपालमा उन्नैसौं शताब्दीको मध्य सम्म रहेको थियो। श्री ३ चन्द्र शमशेर जबराले त्यसलाई उन्मूलन गरेका थिए। 

अव अन्तिम सन्दर्भबारे चर्चा गरौ। यसलाई विजयादशमी कि बडादशमी भन्ने ? यसको उत्तर सजिलो छ। श्रीराम श्रीलंका गई बाँदरको फौज प्रयोग गरि राजा रावणसँग गरिएको युद्धमा विजय हासिल गरी पुष्पक विमान चढेर फर्केको विश्वास गर्नेहरुले गलतै भए पनि विजया दशमी भने हुन्छ। 

चन्द्र पात्रो बमोजिम हरेक वर्षमा २४ वटा दशमी रहेका हुन्छन् ती मध्य अन्न पूजा गरि टीका  र जमरा लगाउने दशमी तिथिलाई दशैं मान्नेहरूले बडादशैं भन्नु पर्छ। मैले भने जहिलेदेखि दशैंको ऐतिहासिकताबारे आफू  निष्कर्षमा पुगेँ, त्यसबेलादेखि  बडादशैं भन्दै नेपाली जनताको महान सांस्कृतिक पर्व मान्ने गरेको छु।

salt training

कमेन्ट गर्नुहोस्