०२ असार २०८३, मंगलबार

कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, भेरीगंगाका ३२ वर्षीय पुरुषको मृत्यु

कात्तिक १६, २०७७
कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुग्यो, भेरीगंगाका ३२ वर्षीय पुरुषको मृत्यु

कर्णाली प्रदेशमा हालसम्म कोरोनाका कारण १६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा सुर्खेतको भेरीगंगा नगरपालिका–१२ का ३२ वर्षीय पुरुषको मृत्यु भएपछि यो संख्या १६ पुगेको हो ।

उनको गएराति ११ बजे मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. नवराज केसीले जानकारी दिए ।

उनलाई उपचार गर्न प्रादेशिक अस्पतालमा पुर्‍याएको एक घण्टामै मृत्यु भएको उनको भनाइ छ ।

‘दशैंको सप्तमीको दिन ज्वरो आएपछि छिन्चुमा टाइफाइड भनेर उपचार गरिएको रहेछ, औषधिले ठीक नभएपछि बाँकेको कोहलपुर लगिएको थियो,’ केसीले भने, ‘तर कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पुर्‍याइएको थियो ।’

तीन दिनअगाडि मात्रै ती युवाको पीसीआर परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी पहिलेदेखि नै मानसिक रोगी भएको डा. केसीले जानकारी दिए ।  योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्