
सरकारले चालू आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरेको नीति तथा कार्यक्रममा ‘बाली लगाउनु पूर्व नै कृषकको मुनाफा सुनिश्चित हुने गरी समर्थन मूल्य तोकिने’ जनाएको थियो । तर किसानले धान उत्पादन गरेर बजारमा पुर्याउन उचित मूल्य पाइरहेका छैनन् ।
सरकारले यस वर्षका लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७३५ रुपैयाँ र मध्यम धानको मूल्य २ हजार ८८५ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ । सरकारले तोकेको समर्थन मूल्यमा निजी क्षेत्रका व्यवसायीले किसानबाट धान खरिद गरिरहेका छैनन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–६ जाइका प्रदीप चौधरी भन्छन्, ‘धानको मूल्य तोकिएको सुन्दा निकै मेहनतका साथ खेती गर्यौं तर अहिले बेच्ने बेलामा प्रतिक्विन्टल १ हजार ७०० देखि १ हजार ९०० रुपैयाँको हाराहारीमा पनि मूल्य पाउन सकिरहेका छैनौं ।’ सरकारले तोकेको मूल्य र बजार मूल्यमा प्रतिक्विन्टल १ हजार रुपैयाँ बराबरको फरक देखिएको छ ।
‘सरकारले तोकेको समर्थन मूल्य कसरी पाउने खै ?’ धनगढीको जुगेडाका हिरालाल चौधरीले भने, ‘धान भित्र्याएर अहिले बेच्न नसके घर खर्च चलाउनै मुस्किल पर्छ । त्यसैले भएको ५ क्विन्टल धान १ हजार ८०० रुपैयाँका दरले गल्लामा बेचेर आए । के गर्ने हाम्रो त बाध्यता छ ।’ किसानहरू धान फलाएर बिक्री गर्दै चाडबाड खर्चको जोहो गर्छन् । दशैं सकिएर तिहार नजिकिँदै गर्दा पनि सरकारले किसानलाई धानको उचित मूल्य पाइने बन्दोबस्त मिलाएको छैन ।

गत जेठतिर धान रोपेका किसानले असोजभित्र धान भित्र्याइसकेका छन् । कृषिमै आश्रित किसानहरू आफूलाई वर्षभर पुग्ने गरी अन्न भण्डारण गरेर बचेको बाली बेचेर घर खर्च चलाउने गर्छन् । दशैंतिहारको खर्च चलाउन ७ क्विन्टल धान बेचेका गौरीगंगा नगरपालिकाका कर्ण हमालले भने, ‘सरकारले त हामी किसानहरूलाई झुक्काउने मात्रै हो, हामीले तोकिएको मूल्य कहिल्यै पाएका छैनौं ।’
सरकारले तोकेको मूल्य हावादारी भएको देखिएकाले सरकारले किसानले उचित मूल्य पाउने व्यवस्था मिलाउनुपर्ने गोदावरीकी हरिना कुँवरले बताइन् । ‘हामीले बर्सेनि सस्तोमै धान बेच्नुपर्छ यसरी त लागेको लगानी पनि फर्काउन सक्दैनौं । अब तोकेकै मूल्यमा सरकारले नै हाम्रो धान किन्नुपर्छ,’ उनले भनिन् । तर सरकारले किसानबाट धान खरिद गर्न ढिला गर्दै निजी क्षेत्रलाई फाइदा पुर्याउने गरेको छ । सरकारले किसानले बिक्री गर्न चाहेको बेला चाडवाडअघि नै धान खरिद गर्दैन ।
किसानले धान बेचिसकेपछि खरिद गर्ने सरकारको तयारी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले सोमवारदेखि कैलालीमा धान खरिदका लागि काटा सञ्चालन गरिसकेको दाबी गरेको छ । ‘धनगढीको मोहनपुर र टीकापुरमा हामीले काटा सञ्चालन गरेका छौं । अबको केही दिनमै खरिद शुरू हुन्छ,’ कम्पनीका धनगढी प्रमुख अनिल श्रेष्ठले भने, ‘हामीले धान खरिद गर्न ढिलाइ गरेका छैनौं । गत वर्षभन्दा यस वर्ष छिट्टै काटा सञ्चालन गरेका छौं ।’
अधिकांश किसानले दशैं खर्च जुटाउन धान बेचिसकेको र निजी क्षेत्रका व्यवसायीले सस्तोमा खरिद गरेका जनाइएको छ । किसानबाट सस्तोमा खरिद गरेको धान निजी क्षेत्रका व्यवसायीले नै सरकारी कम्पनीलाई बेचेर धेरै फाइदा कमाउने विगतदेखिकै चलखेल रहेको किसानहरूको आरोप छ ।
सरकारले यस वर्ष ६ हजार ५ सय मेट्रिक टन खरिद कोटा तोकेर पठाएको छ । गत वर्ष ५ हजार खरिद कोटा थियो । हामीले ५ हजारकै हाराहारीमा खरिद गरेका हौ,’श्रेष्ठले भने,‘यस वर्ष पनि निर्धारित कोटा अनुसार नै खरिद हुन्छ । हामीले गोदामको समस्या छ । ६ हजार ५ सय मेट्रिक धान खरिद गरिए गोदाम व्यवस्थापनमा समस्या हुन्छ। हामी सँग ५ हजार क्विन्टल क्षमताको मात्रै गोदाम छ।’