०३ असार २०८३, बुधबार

धार्मिक पर्यटकीय गन्तव्यमा थपिँदै पुम्दीकोट

कात्तिक २२, २०७७
धार्मिक पर्यटकीय गन्तव्यमा थपिँदै पुम्दीकोट

पर्यटकीय नगरी पोखरा उपत्यकाका डाँडाकाँडाहरू समेत धार्मिक एवं पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेका छन् । सराङकोट, काहुँडाँडा, मट्टिखान लगायतका डाँडाहरू पर्यटकीय एवं धार्मिक गन्तव्यको रूपमा यसअघि नै विकास भइसकेका हुन् । त्यसैक्रममा अब थपिँदैछ – पुम्दीकोट ।

पोखरा महानगरपालिका–२२ को पुम्दीभुम्दीस्थित पुम्दीकोटलाई धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले हाल विशाल महादेवको मूर्ति जडान गरिँदैछ । 

भारतबाट ल्याइएको अष्ठधातुजडित फाइवर ग्लासको ६ टन तौल बराबरको सो मूर्ति लिफ्ट र क्रेनको सहयोगमा जडान जारी रहेको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । उनका अनुसार कात्तिक महिनाभर सो मूर्ति जडान भइसक्नेछ । मूर्ति जडानका लागि भारतबाटै कालिगढी झिकाइएको छ । 

भारतको मथुरामा निर्मित सो मूर्ति जडानमा हाल २० जना कामदार खटिएका छन् । सिंहासनमा बसेको ५१ फिट अग्लो सो मूर्ति भारतबाट १२ वटा गाडीमार्फत अघिल्लो हप्ता ल्याइएको हो । 

निर्माण समिति अध्यक्ष बराल भन्छन्, ‘धार्मिक एवं पर्यटकीय महत्त्वको पुम्दीकोटमा विशाल महादेवको मूर्ति निर्माण लगायत अनेकौं संरचना निर्माणपछि पोखरा घुम्न आउने पर्यटकको १ दिन भए पनि बसाइँ अवधि लम्बिने विश्वास छ । साथै यस आसपासको क्षेत्रमा धार्मिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा सघाउ पुग्ने छ ।’

पुम्दीकोटको विकासका लागि ४० करोड रुपैयाँको गुरुयोजना रहेकोमा कोरोना महामारी लगायत विविध समस्याका कारण लागत बढेर ४५ करोड रुपैयाँसम्म पुग्ने निर्माण समितिको अनुमान छ । हालसम्म १३ करोड रुपैयाँमा करीब ४० प्रतिशत कार्यसम्पन्न भइसकेको छ ।  मूर्ति जडानसँगै करीब २० करोड रुपैयाँको काम भइसक्ने बरालले बताए । ५ वर्षमा निर्माण सम्पन्न गर्ने योजनाअन्तर्गत शिलान्यास भई कार्य शुरू भएको साढे २ वर्ष बितिसकेको छ । 

निर्माण समितिले १८ वटा ‘अट्याच बाथरुम’ सहितका सटर निर्माण गरिसकेको छ । गुरु महाराजको आश्रम, १०८ वटा शिवलिङ्ग, शिवजीको शिला, ग्रिनरी पार्क, पार्किङ, तारबर, रेलिङ, स्मृति पार्क लगायत संरचना बन्दै छन् । 

नेपालमा यसअघि काठमाडौंको साँगामा सबैभन्दा अग्लो १०८ फिटको विशाल मूर्ति छ । पुम्दीकोट आफैंमा शिखरमा रहेको र १०८ फिटकै अग्लो मूर्ति निर्माण गरिने पूर्व योजना भए पनि हवाई उड्डयन प्राधिकरणको अनुमति नमिल्नु र कतिपय विविध समस्याले खुम्च्याएर ५१ फिट मात्र मूर्ति निर्माण गरिएको हो । सो मूर्ति भारतका कलाकार पिपुल अग्रवालले बनाएका हुन् भने हिल ट्यांक प्रालिका प्रबन्ध सञ्चालक उद्योगपति एवं समाजसेवी कमल जयनले प्रायोजन गरेका हुन् ।

मूर्ति राख्ने स्ट्यान्ड निर्माणमा वीरगञ्जका समाजसेवी एवं उद्योगपति रुंगटा बेल्फेयर सोसाइटीका मुरलीधर रुंगटाले आर्थिक सहयोग गरेका छन् । समिति अध्यक्ष बराल, समाजसेवी जयन, व्यवसायी रुंगटाले जनही १/१ करोडभन्दा बढी रकम मूर्ति निर्माणका लागि दान दिएका हुन् । 

मूर्ति स्थापनासँगै समितिले पहिलो चरणको काम अन्तर्गत मूर्ति जडान सहितको १०८ स्वर्गद्वारी सिँढी, ढुंगा बिछ्याउने, रंगरोगन, फिनिसिङ लगायतको काम गर्न थप २ करोड रकम जोहो गर्नुपर्ने समितिका अध्यक्ष बरालले बताए । समितिले आर्थिक संकलनका लागि २०७३ फागुन ३ देखि १३ सम्म पुम्दीकोटमा महादेव पुराण एवं धार्मिक पर्यटन महोत्सव आयोजना गरेको थियो । महायज्ञबाट मात्रै ६ करोड १८ लाख नगद र २० रोपनी जग्गा भूमिदान भएको थियो । महायज्ञमा बोलिएको रकममध्ये अझै डेढ करोड रुपैयाँ उठन् बाँकी रहेको बताइएको छ ।

बृहत् योजना सफल बनाउन संघीय सरकारले साढे ४ करोड, पोखरा महानगरपालिकाले डेढ करोड, गण्डकी प्रदेश सरकारले ६० लाख रुपैयाँ सहयोग गरेको छ । कूल २२ रोपनी क्षेत्रफलमा रहेको जग्गा समितिले ३० वर्षको लागि नेपाल सरकारसँग भाडामा लिएको हो । 

पुम्दीकोटबाट पोखरा बजार, फेवाताल, अन्नपूर्ण, माछापुच्छ्रे, नीलगिरि, धौलागिरि, मनास्लु लगायतका हिमशृंखला, विश्व शान्ति स्तुपा, सराङ्कोट, काहुँडाडा, मट्टिखान, हरियोवन, विभिन्न प्रजातिका बिरुवा, चराचुरुङ्गी समेत देख्न सकिन्छ । पुम्दीकोटमै यसअघि ‘भ्यू टावर’ निर्माण भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्