०७ साउन २०८३, बिहीबार

राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

मंसिर ३०, २०७७
राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

सभामुख अग्नि सापकोटाको अनुपस्थितिका कारण संवैधानिक परिषद् बैठक बस्न नसकेपछि सरकारले अध्यादेश ल्याएको छ ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन् ।

अध्यक्षबाहेक ४ जना सदस्य उपस्थित हुँदा मात्र संवैधानिक परिषद् बैठक बस्न सक्ने कानूनी व्यवस्था थियो ।

आफ्नै पार्टीबाट निर्वाचित भएका सभामुखको अनुपस्थितिमा गणपूरक संख्या नपुगेपछि प्रधानमन्त्री ओलीले बहुमत सदस्य उपस्थित भएपनि बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएका हुन् ।

परिषद्को मंगलवारको बैठकमा प्रधानमन्त्री एवं परिषद् अध्यक्ष केपी शर्मा ओलीका अलावा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा मात्र उपस्थित भए ।

प्रतिनिधि सभाको उपसभामुख नरहेकाले परिषदमा एक सदस्य भने रिक्त छ । यस्तो अवस्थामा सभामुख सहभागी नहुँदा बैठकमा गणपूरक संख्या नपुगेको हो ।

आवश्यक समन्वय नभएको र एकलौटी ढंगले विभिन्न आयोगहरूमा नियुक्तिका लागि सिफारिशको तयारी भएकाले त्यसमा असन्तुष्टि जनाउँदै सभामुख बैठकमा अनुपस्थित भएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले आफूसँग सल्लाह समेत नगरी संसद् अधिवेशन अन्त्यको सिफारिश गरेपछि सभामुख सापकोटा उनीसँग असन्तुष्ट छन् ।

संवैधानिक परिषद् बैठक आज साँझ ५ बजेका लागि पुन: बोलाइएको छ ।

कमेन्ट गर्नुहोस्