२९ असार २०८३, सोमबार

लकडाउनपछि हलमा पुरानै फिल्म, यी हुन् चल्न लागेका २ फिल्म

पुस ८, २०७७
लकडाउनपछि हलमा पुरानै फिल्म, यी हुन् चल्न लागेका २ फिल्म

आगामी शुक्रबारबाट नेपालभरका हल सञ्चालनमा आउँदैछन् ।

यतिबेला हल व्यवसायीहरू कसरी चलचित्र प्रदर्शन गर्ने, हलसम्म दर्शक कसरी तान्ने र नयाँ चलचित्र प्रदर्शनका लागि निर्मातालाई कसरी मनाउने लगायत विभिन्न विषयमा हल व्यवसायी छलफलमा जुटेका छन् ।

एक हप्ताअघि मात्रै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले लोकान्तरसँग केही दिनमै हल खुलाउने विषयमा सरकारले निर्णय गर्न लागेको बताएका थिए । 

उनले हल व्यवसायीहरूको पक्षमा निर्णय हुन लागेकाले चिन्तित नहुन समेत आग्रह गरेका थिए । 

तथापि, अहिलेसम्म सरकारका तर्फबाट हल खोल्ने विषयमा कुनै टुंगो लागेको छैन । सोही कारण चलचित्र संघले एकतर्फी रूपमा हल खोल्ने निर्णय गरिसकेको छ ।

चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानका अनुसार, शुक्रबारबाट हलमा ‘आमा र सेन्टी भाइरस’ चलाउन थालिएको छ । यी दुवैै चलचित्र लकडाउन शुरू हुन लागेका बेला हलमा प्रदर्शन भइरहेका थिए ।

समीक्षात्मक रुपमा आमाले राम्रो प्रशंसा पाए पनि यी दुवै चलचित्रले सोचेजस्तो आम्दानी भने गर्न सकेका थिएनन् । संघका अध्यक्ष प्रधानले आमा र सेन्टी भाइरस चलाउने विषयमा आफूहरूले तयारी गरेपनि पूर्ण फाइनल भने भइनसकेको प्रतिक्रिया दिए ।

कतिपयले चलचित्र प्रेम गीत ३, म यस्तो गीत गाउँछु २ लगायतका केही ठूला मूभी प्रदर्शन गर्नुपर्छ समेत भनेका छन् । तर, यी चलचित्रका निर्माताले भने लगानी उठ्ने सम्भावना नभएसम्म हलमा चलचित्र लगाउँछन् भन्ने कुरामा विश्वस्त हुन सकिन्न ।

नेपालमा ९ महिनादेखि चलचित्र हल पूर्ण रूपमा बन्द छन्, जसले करोडौं रकम हल व्यवसायीले घाटा बेहोर्नुपरेको छ । 

त्यसो त हलमा अहिल्यै दर्शक खचाखच भरिन्छन् भन्ने विषयमा चलचित्र निर्माता, हल व्यवसायी, वितरक तथा कलाकार कोही पनि विश्वस्त छैनन् ।

तथापि हल व्यवसायीले चलचित्र उद्योगलाई चलायमान बनाउनका लागि यो निर्णय अत्यावश्यक भएको बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्