२१ असार २०८३, आइतबार

कोरोनाले घटायो डिजेल र पेट्रोलको आयात, बच्यो २० अर्ब ४५ करोड

कोरोनाले घटायो डिजेल र पेट्रोलको आयात, बच्यो २० अर्ब ४५ करोड

कोरोना महामारीका कारण पेट्रोलियम पदार्थको आयातमा गिरावट आएको छ । 

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा मुलुकमा पेट्रोल तथा डिजेलको आयातमा गिरावट आएको भन्सार विभागले जनाएको हो । 

विश्वभर निम्तिएको कोरोना महामारीलाई रोकथाम तथा न्यूनीकरणका लागि मुलुकमा गत वर्ष २०७६ चैत ११ गतेदेखि लकडाउन गरिएको थियो । नयाँ आर्थिक वर्ष २०७७/०७८ को शुरूमा पनि लकडाउन खुलिसकेको थिएन । 

काठमाडौं उपत्यकामा पुस ३ गतेसम्म सवारी साधनमा जोरबिजोर प्रणाली लगाइएको थियो । 

नयाँ आर्थिक वर्ष शुरू भएसँगै ५ महिनासम्ममा कुनै न कुनै किसिमको निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थको आयातमा कमी आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले लोकान्तरलाई बताए । 

उनका अनुसार गत वैशाखदेखि असार मसान्तसम्ममा सरदर ३० हजार किलोलिटर पेट्रोल आयात भएको छ । यस्तै डिजेल सरदर ९५ हजार किलोलिटर आयात भएको छ । 

कोरोना महामारीका कारण सबै क्षेत्र ठप्प हुँदा पेट्रोल तथा डिजेलको खपत कम भएको उनको भनाइ छ । 

लोकान्तरसँग उनले भने, ‘कोभिडका कारण सबै क्षेत्र ठप्प थियो, त्यसकारण गत वर्षभन्दा अहिले कम आयात भएको देखिन्छ ।’

कस्तो छ आयातको अवस्था ? 

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको मंसिरसम्ममा मुलुकमा २ लाख २७ हजार ९ सय ४७ किलोलिटर पेट्रोल आयात भएको छ । 

गत आर्थिक वर्षको सोही समयमा मुलुकमा २ लाख ६१ हजार ४ सय ५ किलोलिटर पेट्रोल आयात भएको थियो । 

विभागका अनुसार चालू आवको पहिलो ५ महिनामा डिजेल आयातमा पनि गिरावट आएको छ । 

सो अवधिमा ५ लाख ६४ हजार ६ सय ८५ किलोलिटर डिजेल आयात भएको विभागले जनाएको छ । 

यद्यपि अघिल्लो वर्षको सोही समयावधिमा ५ लाख ९३ हजार ४३ किलोलिटर डिजेल आयात भएको थियो । 

पेट्रोलियम पदार्थको आयातमा कमी आएसँगै पेट्रोल तथा डिजेलको आयातमा मात्रै पहिलो ५ महिनामा राज्यको २० अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम बचत भएको छ । ​

५ महिनामा बाहिरियो ३३ अर्ब ६२ करोड 

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा मुलुकबाट पेट्रोल तथा डिजेलको आयातमा ३३ अर्ब ६२ करोड रुपैयाँ बाहिरिएको छ । 

सो अवधिमा २३ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रकम डिजेल आयातमा बाहिरिएको छ । 

अघिल्लो आवको सोही समयसम्ममा डिजेल आयातमा ३८ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको थियो । 

समीक्षा अवधिमा डिजेल आयातमा गिरावट आउँदा राज्यको १५ अर्ब ६ करोड रुपैयाँभन्दा बढी बजेट बचत भएको छ । 

यता पेट्रोल आयातमा कमी हुँदा राज्यलाई ५ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी बचत भएको छ । 

चालू आवको मंसिरसम्ममा मुलुकमा १० अर्ब १९ करोड ६ लाख रुपैयाँभन्दा बढीको पेट्रोल आयात भएको भन्सार विभागले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा मुलुकमा १५ अर्ब ५७ करोड ४४ लाख रुपैयाँभन्दा बढीको पेट्रोल आयात भएको थियो ।

कस्तो छ राजस्व संकलनको अवस्था ? 

भन्सार विभागका अनुसार, चालू आवको मंसिरसम्ममा पेट्रोल तथा डिजेलको आयातबाट २६ अर्ब ६७ करोड ७१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । 

अघिल्लो आवको सोही समयमा १७ अर्ब ९७ करोड १० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । 

चालू आवको मंसिरसम्ममा पेट्रोल आयातमार्फत १० अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

अघिल्लो आवको सोही समयावधिमा ८ अर्ब १२ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको थियो । 

यस्तै चालू आवको मंसिरसम्ममा डिजेल आयातमार्फत १६ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । 

अघिल्लो आवको सोही समयमा डिजेलको आयातमार्फत सरकारले ९ अर्ब ८४ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

वार्षिक बाहिरिन्छ २ खर्ब 

मुलुकभर पेट्रोल तथा डिजेल आयातबाट वार्षिक २ खर्ब रुपैयाँ बाहिरिरहेको आयल निगमका प्रवक्ता उपाध्याय बताउँछन् । 

सरकारले विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने भनेपनि कार्यान्वयनमा त्यस्तो हुन नसक्दा दैनिक रूपमा पेट्रोलियम पदार्थको माग बढिरहेको उनको भनाइ छ । 

उनले भने, ‘वार्षिक २ खर्ब रुपैयाँ पेट्रोलियम पदार्थको खपतमा बाहिरिन्छ, विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेर प्रयोगमा ल्याउन सके यो रकम विस्तारै घटाउँदै लैजान सकिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्