०८ असार २०८३, सोमबार

घर फर्किएर साहुको ऋण तिरौंला भन्थे, भुक्तानी नपाउँदै गयो ज्यान

पुस १४, २०७७
घर फर्किएर साहुको ऋण तिरौंला भन्थे, भुक्तानी नपाउँदै गयो ज्यान

रगत–पसिना बगाएर उत्पादन गरेको उखु बिक्रीबापतको २१ लाख रुपैयाँ भुक्तानी नपाएपछि आन्दोलनका लागि काठमाडौं आएका रौतहटका किसान नारायण राय यादव घर फर्किन पाएनन् ।

अन्नपूर्ण सुगर मिलबाट भुक्तानी नपाएपछि काठमाडौं आएका उनको मृत्यु भएको छ ।

आन्दोलनका लागि दैनिक समयमै आउने र सबैभन्दा अग्रपंक्तिमा रहेर माग राख्ने उनको अत्यधिक चिन्ताका कारण निधन भएको उनका नजिकका साथीभाइहरू बताउँछन् ।

उनको काठमाडौंस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।

आन्दोलनरत उखु किसानहरूसँग सोमवार कृषिमन्त्री पद्मा अर्यालले वार्ता गरेकी थिइन् ।

उक्त वार्तामा सहमति भएर किसानहरूलाई मंगलवार बिदाइ गरी घर फर्काउने कार्यक्रम थियो । तर यादव अब घर नफर्किने भएका छन् ।

उनका साथीहरू पनि भुक्तानी भन्दा साथी गुमाएको पीडा र आँसु लिएर फर्किँदैछन् । 

भुक्तानी नपाई सोमवार भएको भनिएको सहमति उनलाई चित्त बुझेको थियो । साहुको ऋणले थलिएका उनी भुक्तानी लिएर मात्रै घर फर्किने र ऋण तिर्ने अडानमा थिए ।

गंगालाल हृदयरोग केन्द्रले उनको ब्रेन ह्यामरेजका कारण मृत्यु भएको हुनसक्ने शंका गरेको छ । 

उनीसँगै आन्दोलनमा सहभागी किसान गजेन्द्र सिंह अहिले निकै निराश छन् ।

लोकान्तरसँग उनले भने, ‘हिजो सँगै गाडीमा फर्किएका थियौं । आज सम्पर्कमा नआएपछि पटक–पटक फोन गरेँ । अरू कसैले उठाएर निधन भयो भनिदिए । निकै दुःख लाग्यो ।’ 

काठमाडौंमा स्वर्गीय यादवका कोही आफन्त नरहेको उनले बताए ।

सोही कारण उनी गोठाटारमा एक मन्दिरको धर्मशालामा ५–६ दिनदेखि बस्दै आएका थिए । 

गाउँमा स्वर्गीय यादवका श्रीमती र ४ छोरा छन् ।

‘मिल मालिकले २ लाख त दिएको थियो,' सहकर्मी श्यामबाबु साह भन्छन्, ‘अरू पैसा उठ्ला भन्ने आशामा थिए । पैसा लगेर ऋण तिर्छु भनिरहेका थिए । तर, भुक्तानी नपाउँदै उनले प्राण त्यागे ।’

उनी आन्दोलनका लागि गोठाटारको कृष्णप्रणामी मन्दिरबाट हिँडेरै माइतीघरसम्म आउँथे ।

उनीसँगै आन्दोलनमा सहभागी गजेन्द्रप्रसाद सिंहका अनुसार स्वर्गीय यादव लामो समयदेखि मुटु रोगबाट पीडित थिए ।

उनले पछिल्लो समय डबल डोज औषधि सेवन गर्दै आएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्