!['अम्ब्रेला स्ट्रीट'बाट निकालियो छाता, यस्तो थियो टिकटक बनाउनेको भीड [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Umbrella_Street_PcaQs6mCTD.jpg)
राजधानीको न्युरोडमा रहेको संकटा क्लबका सचिव आशिषमान सिंहको नजर पोर्चुगलको एउटा फोटोमा पर्यो ।
सो फोटोमा सडकमाथि छाताहरू टाँगिएको थियो र त्यसमा मानिसहरूको आकर्षण पनि प्रस्टै देखिन्थ्यो ।
कोरोनाले न्युरोड क्षेत्रको व्यापार चौपट थियो । मानिसहरूको आवतजावत खासै थिएन ।
पोर्चुगलको त्यो फोटोले उनको मनमा एउटा योजना फुर्यो- 'यहाँ पनि यस्तै छाता राख्न पाए, मान्छेहरू आउँथे कि ? जनजीवन सामान्यतर्फ अघि बढ्थ्यो कि ! '
उनले आफ्नो योजना साथीहरूलाई सुनाए, त्यसपछि शुरू भयो छाता राख्ने काम छ ।
उनले जति सोचेर छाता राखेका थिए, नतिजा सोचेभन्दा निकै राम्रो आयो । १५ दिनमै मानिसहरूको भीडभाड हुन थाल्यो ।
न्युरोडको संकटा गल्लीमा 'अम्ब्रेला स्ट्रीट' भनेर चौतर्फी चर्चा भयो । मिडियाहरूले स्थान दिए ।
भीड बढ्दै गयो । १५ दिनको अवधिमा करीब ८ लाखले 'अम्ब्रेला स्ट्रीट' अवलोकन गरेको दाबी सिंह गर्छन् ।
परिस्थिति यस्तो आयो कि भीडभाड थाम्नै नसकिने भयो । व्यवस्थापन गर्नै मुस्किल पर्यो ।
खासगरी टिकटक बनाउनेहरूको भीडले हिँडिसाध्ये भएन । सोहीकारण अहिले संकटा गल्लीबाट छाता झिकिएको छ ।
अब यसलाई अलि व्यवस्थित तरिकाले राख्ने योजना उनले बनाएका छन् ।
हेर्नुहोस्, छाता झिक्नुअघि 'अम्ब्रेला स्ट्रीट'मा देखिएको भीड :