१० असार २०८३, बुधबार

कोरोनाको धक्काले फेरेको जीवन : पतिपत्नीको उद्यमले आत्मनिर्भरतातिर

माघ १७, २०७७
कोरोनाको धक्काले फेरेको जीवन : पतिपत्नीको उद्यमले आत्मनिर्भरतातिर

कैलालीको धनगढी उपमहानगरपालिका–१४ की बिस्ना थापाको परिवार छाक टार्न पनि भारतकै भर पर्नु पर्थ्यो । उनका पति १८ वर्षदेखि भारतमै रोजगारी गर्थे ।

भारत जान पनि थापा दम्पतीले भएको ५ कट्ठा जग्गा साहुकहाँ बन्धकीमा राखेका थिए । भारतको मजदुरीले परिवारको छाक टार्नै ठिक्क थियो । 

कोरोना कहरका कारण सामान्य रोजगारी पनि खोसिएपछि बिस्नाका पति रित्तो हात घर फर्के, त्यसपछि झनै दुःखका दिन शुरू भए ।

‘रोजगारीका लागि भारत गएका श्रीमान कोरोना कहरका कारण घर फर्किनुभयो,’ धनगढी उपमहानगरपालिका–१४ की बिस्ना थापाले भनिन्, ‘कमाउन गएका श्रीमान नै घर फर्किएपछि परिवारमा छाक टार्नै समस्या हुन थाल्यो । कोरोना संक्रमण कम हुन थालेपछि फेरि रोजगारीका लागि भारत जाने उहाँको लक्ष्य थियो । तर कोरोना संक्रमण झन् बढ्न थालेपछि उहाँ भारत जान पाउनुभएन ।’

रोजगारीको सिलसिलामा बिस्नाका पतिको आधा उमेर भारतमै बित्यो । अझै पनि उनका पतिको रहर सकुन्जेलसम्म भारतमै रोजगारी गर्ने थियो । तर उनको त्यो सोचलाई कोरोना कहरले बीचमै अवरुद्ध बनायो ।

उनका पति दोधारमै रहेका बेला वडा सदस्यमार्फत बिस्नाले उद्यमशीलताको तालिम हुन लागेको थाहा पाइन् । उनले त्यो तालिम लिने र पछि मिलेर यतै काम गर्ने सल्लाह गरिन् । त्यसमा उनका पति राजी भए । बिस्ना तालिममा सहभागी भइन् ।

‘तालिममा सहभागी भएर कसरी उद्यम गर्ने, किन गर्ने, कुन उद्यमका के कस्ता समस्याहरू छन्, त्यसका चुनौतीहरू के कस्ता छन्, त्यसको समाधान कसरी गर्न सकिन्छ भन्नेबारे थाहा पाएँँ,’ उनले भनिन्, ‘त्यसपछि मैले तरकारी खेती गर्ने सोच बनाएँ । अनि श्रीमानसँग मिलेर बन्धकी रहेको जग्गामा तरकारी खेती गर्ने योजना बन्यो ।’

अहिले बिस्नाको ५ कट्ठा जमिन तरकारीले भरिएको छ । काउली र बन्दा फक्रिने तयारीमा छन् । खुर्सानी र धनियाँले बारी नै हरियो भएको छ । मसिनो माटोमा मुलाहरू बढिरहेका छन् । केही तरकारी तयार भइसकेको छ । केही तरकारी माटोसँग लडिबुडी गरिरहेको छ । 

केही महिनाअघि सामान्य घर चलाउनका लागि अरूको भर पर्ने र प्रायः सधैं निराश देखिने बिस्नाको अनुहार फेरिएको छ, मुहारमा चमक थपिएको छ । पतिपत्नीसँँगै दाजुभाउजूका हात पनि तरकारी फलाउनमा सघाइरहेका छन् ।

पतिलाई घरमै राख्ने सोचले शुरू गरिएको तरकारी खेतीले जीवन पनि फेरिएकोमा खुशी छिन् बिस्ना । ‘पहिला श्रीमान् कामका लागि भारत जाने गर्नुहुन्थ्यो । अहिले सँगै अर्ग्यानिक तरकारी खेती गरिरहेका छौं,’ थापाले भनिन्, ‘भारतमा नोकरी गरेर कमाउने पैसाभन्दा बढी घरकै बारीमा काम गर्दा कमाइ हुने रहेछ । गाउँमै तरकारी खेती गरेर कमाउन सकिने देखेर नै अहिले दाजुभाउजूले पनि सघाइरहनुभएको छ ।’

बिस्नाको परिवारले अहिले गरिरहेको ५ कट्ठा जमिन अपुग हुन थालेको छ । त्यसका लागि १० कट्ठा जमिन भाडामा लिइसकिएको छ । अब त्यहाँ पनि तरकारी खेती विस्तार हुँदैछ । 

बन्धकी राखेको जमिनमा थापा दम्पतीले यसअघि धान र गहुँ खेती लगाउने गरेका थिए । तर अब धान–गहुँ खेती नगर्ने निधो गरिएको छ । ‘धान–गहुँ लगाएर भएको उत्पादन ३ महिना पनि खान पुग्दैन्थ्यो । वर्षभरि किनेरै खानुपर्थ्यो,’ थापाले भनिन्, ‘अहिले तरकारी खेती लगाउन थालेपछि यसबाटै कमाइ भएको छ । त्यो पैसाले आवश्यक सबै खर्च कटाएर आम्दानी पनि हुन थालेको छ । अब हामीले धान–गहुँ किन लगाउने ? तरकारी खेती नै गर्छौं अब ।’
 

salt training

कमेन्ट गर्नुहोस्