
नेकपा (ओली समूह) आज (शनिबार) बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । पार्टी विभाजनपछि देशका विभिन्न ठाउँमा जनसभा गर्दै हिँडेको (ओली समूह)ले शनिबार बुटवलमा वृहत जनसभा गर्न लागेको हो ।
सभाको आयोजना नेकपा लुम्बिनी प्रदेश कमिटीले गरेको हो ।
बुटवल–७ दीपनगरस्थित सिद्देश्वर माविको खेल मैदानमा हुने वृहत जनसभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले संवोधन गर्नेछन् ।
सभामा दुई लाख जनता उतार्ने नेकपाले दावी गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले सभामा रुपन्देहीमा १ लाख र बाहिरी जिल्लाबाट १ लाख जनता सभामा आउने दावी गरे ।
उनले भने, ‘हाम्रो दावी मात्र होइन । दुई लाख जनता आउँछन् । त्यो सभा शुरू भएपछि पुष्टि हुन्छ ।’
रुपन्देहीमा पार्टी महासचिव पौडेलको प्रभाव धेरै रहेकोले कार्यक्रमको उल्लेख जनता उपस्थिति हुने अपेक्षा नेकपाले गरेको छ । सभा शुरू हुनु पूर्व बुटवलको हस्पिटललाई र राजमार्ग चौराहाबाट र्याली सभास्थल सिद्देश्वर खेल मैदानतर्फ जानेछ ।
सभामा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट पार्टी कार्यक्रमहरु सहभागी हुनेछन् । गएको माघ १५ गते बुटवलमै नेकपा (प्रचण्ड–नेपाल) समूहले पनि विरोधसभा गरेको थियो । पार्टी विभाजनपछि नेकपाका दुवै समूहले देशका विभिन्न ठाउँमा सभा सम्मेलन गर्दै हिडेँका छन् ।




