
जन्मिँदै दुईवटा हात नभएकी एक महिलाले नृत्यकलामार्फत संसारलाई प्रेरित गरिरहेकी छन् ।
ब्राजिलको मिनास गेराइस भन्ने स्थानकी १६ वर्षीया भिटोरिया बुएनोले अपांगतका बावजूद नर्तकी बन्ने सपना साकार गराइरहेकी छन् ।
उनलाई फिजियोथेरापिस्टले ब्याले नृत्य गर्नका लागि प्रेरित गरेका थिए ।
बुएनो सामाजिक सञ्जालमा पनि निकै हिट छिन् । इन्स्टाग्राममा उनका डेढ लाखभन्दा बढी फलोअर छन् । त्यहाँ उनी आफ्नो कलाको प्रदर्शन गर्दै भिडियो पोस्ट गरिरहेकी हुन्छिन् ।
दुवै हात नभएकी बुएनो नर्तक बन्ने सपना अवास्तविक देखिएको थियो । उनको अपांगताले उनलाई सबैको चासोको विषय बनाएको थियो ।
उनकी आमा वान्डाका अनुसार, मानिसहरू घरबाहिर लाइन लागेर उनलाई हेर्न आउँथे । मानिसहरूको असंवेदनशीलताले चोट पुर्याउने गरेको वान्डा बताउँछिन् । उनीहरूले बुएनोको लुगाको बाहुला उचालेर समेत हेर्ने गरेका थिए ।
तर अहिले उनी नृत्यमा जोड दिइरहेकी छन् र ज्याज पनि सिक्दैछिन् ।
उनी ब्याले एकेडमीमा भर्ना भएकी छन् । उनले धेरैलाई प्रेरित गरिरहेकी छन् ।
उनले मञ्चमा आफ्ना सहनर्तकहरूसँग मिलेर लयमा नृत्य गर्दा उनका दुवै हात छैनन् भन्ने कुरा सहजै बिर्सिइन्छ ।