
अहिले बजारमा कालो भाले, ब्ल्याक चिकन, कडकनाथ नाम राखिएर निकै रेस्टुरेन्टहरू खोलिएका छन् । चित्र पनि पूरै कालो भाले देखिन्छ ।
त्यति मात्र कहाँ हो र ? परिकार पनि पूरै कालो देखाइएको छ । सबैले नौलो देखेर चाख्नेको भीडभाड पनि त्यतिकै छ ।
नेपालमा बिजनेश व्यापारमा केही नौलो गर्यो कि चलिहाल्यो । हुन पनि यो अचम्मको कुखुरा हुँदो रहेछ, पूरै कालो रौं, कालो छाला, कालो मासु, कालो हुँदाहुँदा यसको अण्डा पनि पूरै कालो ।
कडकनाथ कुखुरालाई स्थानीय भाषामा कालामासी, कालामास पनि भनिन्छ । भारतको मध्यप्रदेश उत्पत्ति मानिएको कालो कुखुरा भारतको आदिवासी समुदायमा लोकप्रिय छ ।
आदिवासी समुदायले यो प्रजातिको कुखुरालाई विभिन्न चाडपर्व, देवीदेउतालाई बलि चढाउन उपभोग गरिने रहेछ । कडकनाथ प्रजातिको कुखुरापालन र यसको व्यवसायले नेपालमा राम्रो सम्भावना बोकेको छ ।
कडकनाथ कुखुराको मुख्य विशेषता भनेको स्थानीय वातावरणमा सहजै बढ्ने, रोग प्रतिरोधात्मक क्षमता भएको, केही गर्मी र मध्यम खालको तापक्रम भएको क्षेत्रमा घुलमिल हुनसक्ने र त्यस्तो वातावरणमा राम्रोसँग हुर्किन सक्नु हो । त्यसैले नेपालको तराई र पहाडी भेगमा यो प्रजातिको कुखुराको राम्रो सम्भावना देखिएको छ ।
कसरी लोकप्रिय भयो कडकनाथ नेपालमा ? स्वास्थ्य सम्बन्धी के–के फाइदा छ ?
नेपालको सबै भेगमा पालन गर्न सहज र लोकन जस्तो देखिने यो कालो जातको कुखुरामा अन्य पंक्षीमा जस्तो झट्ट कुनै रोगले नभेट्ने र कडक खालको मासु हुने हुँदा नेपालमा यसको लोकप्रियता दिनानुदिन बढ्दो छ ।
स्वास्थ्य सम्बन्धी पनि निकै फाइदा हुने हुँदा सबैले यसलाई खोजी–खोजी खाने गरेको पाइन्छ । अन्य पंक्षीमा १८–२० प्रतिशत प्रोटिन पाइन्छ भने यो कालो कुखुरामा २५ प्रतिशत पाइने विज्ञको भनाइ छ । कुखुरामा कोलस्टोरको मात्रा पनि अन्यको हेरेर न्युन मात्र रहन्छ ।
महिलामा देखिने बाँझोपनको उपचारका लागि पनि अत्यन्त उत्तम मानिएको यो कालो कुखुरा मस्तिष्क सम्बन्धी रोग, मुटु सम्बन्धी रोग हुनेहरूको लागि पनि उत्तम मानिएको छ ।
दीर्घकालीन रोगहरू र भाइरल रोगका लागि पनि कडकनाथ राम्रो दबाइ मानिएको छ । बल्डप्रेसरको समस्या हुनेहरूका लागि पनि यसको मासु औषधिको रूपमा प्रयोग हुँदै आएको छ । कुखुराको मासुमा हुने पोषण तत्वहरूका कारण रोग प्रतिरोधकको रूपमा पनि यसको मासु प्रयोग गर्न सकिन्छ । यसको अण्डामा समेत उच्च रूपमा प्रोटिनको मात्र हुने र फ्याटको मात्रा कम हुने हुँदा मानव स्वास्थ्यको लागि अतिउत्तम हुन्छ ।
यसको प्रयोगले टाउको दुख्ने, रिँगटा लाग्ने र मिर्गाैलाको समस्यालाई कम गराउँछ । हेर्दा कालो हुने हुँदा धेरैले यसलाई मन नपराउने भए तापनि पोषक तत्वको हिसाबले उत्कृष्ट मासुमा कालो कुखुराको मासु पर्छ ।