
चितवनको एक सरकारी विद्यालयले कक्षाकोठा अभावमा विद्यार्थीलाई भूइँमा राखेर पढाउन बाध्य भएको छ ।
भरतपुर महानगरपालिका–४ को राष्ट्रिय आधारभूत विद्यालयमा नर्सरीमा पढ्ने बालबालिकालाई भूइँमा नै राखेर पढाउने गरिएको हो ।
विद्यालयमा अहिले २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् तर नर्सरीमा पढ्ने बालबालिकालाई भूइँमै राखेर पढाउन बाध्य भएको विद्यालयका प्रधानाध्यापक धीरबहादुर थापाले बताए ।
‘नर्सरीका विद्यार्थीलाई चौरमा नै राखेर पढाएका छौं,’ उनले भने, ‘कोठा नै पुग्दैन, भूइँमा राख्न बाध्य छौं ।’
विक्रम संवत् २०२४ सालमा बनाइएको विद्यालय भवन जीर्ण भइसकेको छ । ‘भवनको छतबाट प्लास्टर उप्किएको छ । कक्षाकोठाका भित्ता चिराचिरा परेका छन् । शिक्षक वा विद्यार्थी को–को घाइते हुने हुन् भनेर सधैं मनमा त्रास भइरहन्छ,’ प्रअ थापाले भने ।
विक्रम संवत् २०१९ सालमा स्थापना भएको यो विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ भइरहेको छ । विद्यालयमा ३ जनाको मात्रै सरकारी दरबन्दी छ । ४ निजी स्रोतका शिक्षक छन् ।
आन्तरिक स्रोत नहुँदा उनीहरुलाई तलब दिन धौधौ छ । विद्यार्थीसँग उठाउने सामान्य रकम, विभिन्न दाताको सहयोगबाटै शिक्षकलाई जति सकिन्छ उति तलब दिने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम सापकोटाले बताए ।
‘शिक्षकहरूलाई भनेजति तलब दिने स्रोत नै छैन, सहयोग गर्नुस् भनेर अत्यन्तै कम रकममा काम लगाएका छौं, यसोभन्दा मलाई निकै दुःख लाग्छ,’ अध्यक्ष सापकोटाले भने ।
गत वर्ष भरतपुर महानगरपालिकाले दरबन्दी विद्यार्थी कम भएको भनेर २ जनाको कटौती गरेको थियो । काटेको दरबन्दी विद्यार्थी संख्याका आधारमा फिर्ता गर्न भनेर आग्रह गर्दा पनि महानगरको शिक्षा शाखाले नसुनेको गुनासो विद्यालयको छ ।
भरतपुर महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले विद्यालयको समस्याबारे जानकार रहेको र आगामी वर्षको बजेटमा भवन बनाउने रकम राखिने बताए । विद्यालयको १ बिघा ९ धुर जग्गा छ । यसको उपयोग गरेर आन्तरिक आम्दानी हुन थालेपछि विद्यालयमा नेतृत्व हत्याउन भने तँछाडमछाड हुने गरेको अध्यक्ष सापकोटा बताउँछन् ।